फिल्म

‘हाम्रो कमजोरी भनेको स्क्रिप्ट हो, यसमा खासै मेहनत गरिँदैन’ (भिडियो)

काभ्रेको तिमालमा जन्मी हुर्किएका कवि, लेखक, पत्रकार तथा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल बाल्यकालमा बुवाको हात समाएर काभ्रेको अप्पर तिमालबाट बसाइँ सरेर तल झरेका थिए। उनका बुवाको परिवार तल झरे पनि ठूलो बुवाको परिवार माथि नै थिए। अप्पर तिमालबाट ठूलोबुवा काठमाडौँ जाने-आउने क्रममा उनको घरमा बास बस्थे। एकपटक त्यसैगरी काठमाडौँ जान हिँडेका ठूलोबुवा सहर झरेपछि कहिल्यै फर्किएनन्। उनी भन्छन्, ‘अचानक हराउनु भएको ठूलोबुवालाई आजसम्म भेटेको छैन मैले।’

बाल्यकालमा देखेको ठूलोबुवाको अनुहार अझै स्मरणमा बाँचेको बताउने बलका अनुसार अहिले पनि मानिसहरू हराइरहेका छन्। आफ्नो गाईवस्तु हराउनुको पीडा गोठालेलाई थाहा हुन्छ भने झैँ आफ्नो मान्छे हराउनुको पीडा शब्दमा लेख्न सकिन्न।

अझ आफैले जन्माएको छोरी अचानक हराइ भने के होला? त्यो अभिभावकले कति खोज्ला? खोज्ने क्रममा कति हण्डर खानुपर्ला? के हराएको मान्छे फर्किन्छन्? राज्यलाई यस्तै-यस्तै प्रश्न गर्न आफ्नै लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘नीरफूल’ लिएर आउँदैन छन् बल। जेठ २६ गतेदेखि सार्वजनिक हुन लागेको चलचित्र ‘निरफूल’ रुभी भ्यालीबाट हराएको एउटा सपनाको कथा हो।

‘समाजमा मानिसहरू थुप्रो हराउँछन्। खोज्दै गयौँ भने त्यसको राजनीतिक पाटो, राज्य व्यवस्थाको पाटो देखिन्छ। एउटा सर्वसाधारणले आफ्नो परिवारको एक सदस्य खोज्न कति हण्डर खानुपर्छ। हराएका मान्छेको आफन्तको दुःखभित्र पसेर हेर्‍यौँ भने अर्कै संसारमा पुगिन्छ’, बल भन्छन्, ‘भूकम्पका कारण बच्चा हराएको हो तर फिल्मचाहिं बच्चा हराएको होइन। हराएको पात्रसँग अन्य समाजको घटनाहरू पनि फिल्ममा देख्न सकिन्छ।’

रुभी भ्यालीलाई लोकेसन बनाएर छायांकन गरिएको चलचित्र ‘नीरफूल’ रुभी भ्यालीको पात्र, परिवेश, समाज, सपना र परिवारको कथा हो, जुन आम मानिसको सपनासँग नजिक छ। बल भन्छन्, ‘मान्छेको मनोविज्ञानमा सीमित आकांक्षा हुँदैन, बरु आकांक्षा बढ्दै जान्छ। मान्छेको रहर बढ्दै जान्छ। भेडापालक लेक र खर्कबाट गाउँ झर्न चाहन्छ। गाउँको मान्छे सदरमुकाम आउन चाहन्छ। सदरमुकाम पुगेको मान्छेचाहिँ राजधानी आउन चाहन्छ। सपनाहरूको फैलावट हुन्छ, जसले हामीलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान्छ। प्रतिकात्मक रूपमा रुभी भ्याली एउटा परिवारको सपना हो।’

२०७२ सालमा ठूलो भूकम्प गयो। भौतिक सम्पत्ति हरायो। धेरैको धनजन गुम्यो। यस्तैमा एउटा परिवारमा पनि छोरी गुम्यो। जब आफूले जन्माएको बच्चा हराउँछ अनि सधैंको रुवाबासी। सधैंको खोजतलास। ‘नीरफूल’मा हराएको पात्रको छाया आफ्नै ठूलोबुवामा पनि पाउँछन् उनी। तर ‘नीरफूल’को समय ७२ सालको भूकम्पपछि हो।

‘समाजमा मानिसहरू थुप्रो हराउँछन्। खोज्दै गयौँ भने त्यसको राजनीतिक पाटो, राज्य व्यवस्थाको पाटो देखिन्छ। एउटा सर्वसाधारणले आफ्नो परिवारको एक सदस्य खोज्न कति हण्डर खानुपर्छ। हराएका मान्छेको आफन्तको दुःखभित्र पसेर हेर्‍यौँ भने अर्कै संसारमा पुगिन्छ’, बल भन्छन्, ‘भूकम्पका कारण बच्चा हराएको हो तर फिल्मचाहिं बच्चा हराएको होइन। हराएको पात्रसँग अन्य समाजको घटनाहरू पनि फिल्ममा देख्न सकिन्छ।’

बलका अनुसार अहिले पनि सर्वसाधारण हराउँदा राज्य गम्भीर हुँदैन। खोज्नका लागि अनुरोध गर्दा निर्मम हुन्छ। दैनिक कति मानिस हराइरहेका हुन्छन्, तिनको परिवारमा के बितिरहेको हुन्छ भन्ने हिसाबकिताब राज्यले राख्दैन। किन त्यस्तो हुन्छ त? उनी भन्छन्, ‘व्यक्ति भनेको सानो युनिट भयो। राज्य भनेको त्यसको छाता भयो। तर जहाँ मास मिसिङ हुन्छ त्यहाँ राज्यको तडकभडक देख्न सकिन्छ। किनकि माससँग भोटका नाता हुन्छ। जहाँ भोटको राजनीति हुन्छ त्यहाँ राज्य पुग्न बाध्य हुन्छ। तर मैले मास हराउँदा मात्रै होइन, एकजना सर्वसाधारण हराउँदा पनि राज्य गम्भीर हुनुपर्छ भन्ने प्रश्न गरेको छु।’

बल प्रजातन्त्रको सुन्दर पक्ष भनेको नागरिकले सत्तालाई प्रश्न गर्ने हो र स्रष्टा तथा कलाकार, निर्देशनको नाताले यस्तो प्रश्न गरिरहन चाहेको बताउँछन्।

करिब दुई दशक पत्रकारितामा बिताएका बलले ‘नीरफूल’को छायांकन पाँच वर्षअघि सकेका थिए। कोरोना महामारी र आर्थिक मन्दीका कारण चलचित्र पोस्ट प्रडक्सनमै रोकिएको थियो। सायद लकडाउन नलागेको भए उनी चार वर्ष अगाडि नै चलचित्र लेखक निर्देशन भइसक्थे।

‘फिल्म रिभ्यु भनेको फिल्म मेकिङभन्दा हाइ हुनुपर्छ। फिल्म बनाउनेको भन्दा फिल्म समीक्षा गर्नेको फिल्म लिट्रेसी हाइ हुनुपर्छ। राजनीति बुझ्नु पर्छ। अर्थशास्त्र बुझ्नु पर्छ। समाजशास्त्र बुझ्नु पर्छ। फिल्म रिभ्यु चानचुने कुरा होइन।’

अहिले नेपाल टेलिभिजनको महाप्रबन्धक भइरहँदा पनि उनले सिनेमाप्रतिको लगाव सुनाए, ‘सिनेमा यात्रा कान्तिपुरको कला रिपोर्टिङ गर्दादेखि नै हो।’

काजोल खातुन (कथा संग्रह) महाभारतको मैचाङ (कविता संग्रह) र केही नाटक लेखिसकेपछि फिल्म निर्देशक नवीन सुब्बासँग जोडिन पुगेको सम्झिए। सुब्बालगायतको टिमले सन् २०१२ मा निर्देशक आदिवासी अर्काइभ भन्ने स्क्रिप्ट लेखन तथा निर्देशनमा वर्कसप चलाएका थिए। बल पनि त्यसमा सहभागी भए। त्यहाँको सिकाइपछि उनले ‘सेल फोन’ भन्ने छोटो फिल्म बनाए, जुन तामाङ समुदायको पूजापाठमा धर्ममा प्रयोग हुने ढ्याङ्ग्रोसँग सम्बन्धित थियो।

यस विषयमा उनी भन्छन्, ‘ढ्याङग्रो बेचेर मोबाइल किन्ने एक तन्नेरीको कथा थियो सेलफोन। टेक्नोलोजीले संस्कृतिलाई कसरी हानिरहेको छ भन्ने विषय थियो।’

सेलफोनका अनुभवले बललाई एउटा ज्ञान के बढाइदियो भने- कविता तथा किताबबाट भन्दा फिल्मबाट अझै फराकिलो क्यानभासमा आफ्ना कुरा राख्न सकिँदो रहेछ। धेरै मासमा पुग्न सकिँदो रहेछ।

‘वृहत ढंगले कथा भन्न सकिने र प्रभावकारी पनि हुने लागेपछि मैले नीरफूल लेख्न थालेको थिएँ’, उनले ती दिन सुनाए।

कविता, कथा, कला पत्रकारिता, चलचित्र लेखन तथा निर्देशन र टेलिभिजनको महाप्रबन्धक हुँदाको भूमिकालाई समीक्षा गर्दा उनी केही फरक सुनिए- सबै काम आफैंमा चुनौतीपूर्ण थियो। तर काम गर्दै जाँदा अनुभवले सजिलो पनि बनायो। यात्रामा जे-जे आइपर्छन् गर्दै जाने हो।’

०००

कला पत्रकारिताको क्रममा बलले धेरै चलचित्रमाथि निर्मम समीक्षा लेखे। अहिले त बजारमा ‘ठोकेर लेख्नु पर्छ’ भन्ने गरिन्छ। उनले चलचित्रलाई समीक्षात्मक ढंगले न्याय गरे। तर यतिखेर उनकै चलचित्रमाथि समीक्षा गर्ने समय आएको छ। नीरफूलको समीक्षा कस्तो हुने होला भन्नेमा उनी नघोत्लिएका पनि होइनन्। तर उनका लागि फिल्म समीक्षा अझै माथि उठ्न नसकेकोले यस्तै हुनुपर्छ भन्ने पक्षमा छैनन्।

उनी भन्छन्, ‘फिल्म रिभ्यु भनेको फिल्म मेकिङभन्दा हाइ हुनुपर्छ। फिल्म बनाउनेको भन्दा फिल्म समीक्षा गर्नेको फिल्म लिट्रेसी हाइ हुनुपर्छ। राजनीति बुझ्नु पर्छ। अर्थशास्त्र बुझ्नु पर्छ। समाजशास्त्र बुझ्नु पर्छ। फिल्म रिभ्यु चानचुने कुरा होइन।’

बलका अनुसार वर्षौँ लगाएर बनाएको फिल्मलाई सिर्जनात्मक र वैचारिक ढंगबाट चिरफार गर्नुपर्छ तर त्यस्तो खालको डाक्टर अझै छैनन्। डाक्टर हुन गाह्रो छ। अहिले भइरहेको फिल्म समीक्षालाई उनी समीक्षा मान्न अनकनाउँछन्। उनी त्यसलाई फिल्म प्रतिक्रियामात्र मान्छन्।

त्यसो भए पछिल्लो समय भनिएको फिल्म समीक्षालाई टिप्पणी भनेर बुझ्ने कि भन्दा उनी भन्छन्, ‘हामी एउटै बगालको भएर धेरै कुरा नगरौँ तर फिल्म समीक्षा गतिलो नभएको कारणचाहिँ राज्यकै कमजोरी हो। फिल्म भनेको त शक्तिशाली मिडिया रहेछ। यसलाई त पोलिसी बनाउनुपर्छ भन्ने कुरा ५० वर्षपछि राज्यले चासो देखायो। फिल्म पोलिसीको कुरामा बल्ल बहस चल्न थालेको हो। चलचित्र नीति बनिसके पनि ऐनबाट कार्यान्वयन गर्नुपर्छ भन्नेमा त ढिलासुस्ती भइरहेको छ नि। यस्तो अवस्थामा गतिलो समीक्षा आउन त अझै गाह्रो होला।’

बलका अनुसार राष्ट्रिय फिल्म उद्योगलाई कुन वैचारिक दिशा दिने भन्ने कुरा फिल्म समीक्षकको हातमा हुन्छ। हाम्रो फिल्मको दिशा यस्तो हुनुपर्छ भन्ने छैन। उनी भन्छन्, ‘हाम्रो फिल्मको फेस यो हो भन्ने विचार स्पष्ट राख्न सक्ने र आर्टलाई समाजशास्त्रीय आयाम तथा त्यससँग जोडिएका अर्थलाई पनि बुझ्नु बुझाउन सक्ने हुनुपर्छ। स्क्रिप्टको संरचनादेखि अभिनयको पद्धतिसम्म बुझ्नुपर्‍यो। राज्यले नै गम्भीर लिन नसके पनि समीक्षक भने योभन्दा माथि उठ्नु पर्छ।’

आफ्नो पत्रकारिताको करिअरमा खासै निर्मम भएर फिल्म समीक्षा गरेको लाग्दैन बललाई। किनकि त्यो बेला निर्मम भएर समीक्षा गर्नुपर्ने फिल्म नै नबनेको बताउँछन् बल। फिल्मलाई समीक्षा गर्ने स्वतन्त्रता सबैलाई छ। तर उनी भन्छन्, ‘नियत पालेर, पूर्वाग्रह राखेर कसैले समीक्षा गरेमा त्यसलाई केही भन्नु छैन। तर कहीँ न कहीँ आधारमा टेकेर नीरफूलको समीक्षा हुन्छ भने त्यसलाई स्वीकार्छु।’

गतिलो समीक्षा हुन नसक्नुको कारण कमजोर स्क्रीप्ट पनि हो भन्ने लाग्छ उनलाई। आखिर स्क्रिप्ट किन कमजोर भइरहेको छ? यसको निगरानी राज्यले नगरेर हो कि या फिल्म मेकरहरू नै (अपवाद बाहेक) गम्भीर नभएका हुन्?

बलका अनुसार फिल्म दुई चरणमा बन्छ- एउटा कागजमा, अर्को पोस्टमा।

‘फिल्म त क्यामराले मात्र बन्छ भन्ने भयो। तर कागजमा फिल्म ठिक छ भनेजस्तोसुकै क्यामराले खिचे पनि ठिक हुन्छ। कागजमा फिल्म मरेको छ भने जस्तै प्रविधि अपनाए पनि फिल्म राम्रो हुँदैन। हाम्रो कमजोरी भनेको स्क्रिप्ट हो। खासै मेहनत गरिँदैन’, उनी भन्छन्, ‘अहिले त धेरै राम्रो काम गर्ने साथीहरू हुनुहुन्छ। पहिला त फिल्म श्री गणेशायः नमः बाट सुरु हुन्थ्यो। कलाकारले त स्पोर्टमा पुगेर क्यामराअघि उभिएर संवाद मात्रै बोलिदिए पुग्छ भनेर बुझाइन्थ्यो।’

कुनै बेला चर्चित पत्रिकामा फिल्म समीक्षा लेखेर प्रशंसा बटुलेका बलको लेखन तथा निर्देशनमा बनेको नीरफूलमाथि गम्भीर समीक्षा गर्ने पालो आएको छ। यदि त्यसो भए उनको टिप्पणी कस्तो होला? उनी भन्छन्, ‘मेरो फिल्ममाथि पनि गम्भीर समीक्षा हुनुपर्छ। फिल्म बनाइसकेपछि निर्देशक खासै धेरै बोल्नु पर्दैन। जे बोल्छन् फिल्मबाट बोल्ने हो। अब दर्शक र समीक्षाको माध्यमबाट अगाडि बढ्ने हो। फिल्म समीक्षक दुई कुराबाट जोगिनुपर्छ। मासले चाहेको, ५१ दिन मनाएको फिल्म राम्रो हो भनेर समीक्षकले लेख्ने होइन, बरु समाजशास्त्री ढंगबाट पग्रेल्न सक्नुपर्छ। त्यो समीक्षकको विचारको तहबाट समीक्षा हुनुपर्छ भन्ने हो।’

आफ्नो पत्रकारिताको करिअरमा खासै निर्मम भएर फिल्म समीक्षा गरेको लाग्दैन बललाई। किनकि त्यो बेला निर्मम भएर समीक्षा गर्नुपर्ने फिल्म नै नबनेको बताउँछन् बल। फिल्मलाई समीक्षा गर्ने स्वतन्त्र सबैलाई छ। तर उनी भन्छन्, ‘नियत पालेर, पूर्वाग्रह राखेर कसैले समीक्षा गरेमा त्यसलाई केही भन्नु छैन। तर कहीँ न कहीँ आधारमा टेकेर नीरफूलको समीक्षा हुन्छ भने त्यसलाई स्वीकार्छु।’

यति हुँदाहुँदै पनि बलका अनुसार नेपाली फिल्ममा अझै पनि पहिचानको खडेरी छ। करोडौँ खर्चेर बनाएको फिल्म र नेपालमा बनेको फिल्मबीच तुलना गरेर त हुँदैन भन्ने लाग्छ उनलाई। उनी एक किस्सा सुनाउँछन्, ‘एक विदेशी फिल्म मेकरले कति वर्ष रिसर्च गर्नु भयो भनेर सोधेका थिए। मैले २ वर्ष भनेँ। दुई वर्षमा फिल्म बनाउन सकिन्छ भनेर उनी आश्चर्यमा परे। हामीले त कम्तीमा ५ वर्ष लगाउँछौँ भनेपछि म अर्को आश्चर्यमा परेको थिएँ।’

नेपालमा अझै कला क्षेत्रमा लागेर बाँच्न गाह्रो छ। नेपाली फिल्म उद्योगमा एक-दुई कलाकारले पैसा कमाउँछन्, बाँकीले सिँगो जिवन बिताउँछन् र ऋण कमाउँछन्। तर भुटानमा स्क्रिप्ट लेखेर दिए सरकारले ऋण दिन्छ। फिल्म बनाएर तिर्न सकिन्छ। राष्ट्रिय थिएटरमा आफ्नो भाषा र आफ्नो देशमा बनेको फिल्म हेर्न पाइन्छ। तर नेपालमा त्यो वातावरण छैन। बल भन्छन्, ‘खरबौँ लगानी गरेर बनेको विदेशी फिल्मसँग नेपालमा दुई करोडमा बनेको फिल्मले रोइ-रोइ पाखुरी बजाउन तयार हुनुपर्छ।’

अहिले पनि हप्तामा चार फिल्म प्रदर्शनमा आउँछ र एउटा फिल्मले पनि आफ्नो लगानी उठाउन सक्दैन। आखिर स्क्रिप्ट बलियो बनाउन र सुधार गर्न कुनचाहिँ पक्षले प्रभावकारी काम गर्नुपर्छ?

बलका अनुसार पहिला त राज्यले नै सुधार गर्नुपर्छ। व्यक्तिगत हिसाबबाट धेरै राम्रा प्रयास भएको देख्छन् उनी। केही फिल्म मेकरका नाम लिन्छन्- नवीन सुब्बा, खगेन्द्र लामिछाने, मीन भाम, दीपेन्द्र लामा, रामबाबु गुरुङलगायतले राम्रो काम गरिरहको बताउँछन् उनी।

‘व्यक्तिगत प्रयत्नले धार निर्माण गर्दैन। हाम्रो विकास बोर्डका अध्यक्षले चाहेर पनि धेरै काम गर्न सक्नुहुन्न। किनकि अहिले पनि २०२७ सालकै चलचित्र ऐनकाअनुसार काम गरिरहेका छौँ नि, हैन? कोरियन फिल्म कसरी माथि पुग्यो। बलिउड हलिउड फिल्म कहाँ पुगिसक्यो। फिल्म उद्योगलाई राज्यले गर्नुपर्ने काम खासै भएको छैन’, बल भन्छन्, ‘राज्यले आफ्नो राष्ट्रिय फिल्मलाई संरक्षण गर्नका लागि आफ्नो नितिहरु ल्याउनुपर्‍यो। कोरियामा पनि नीति ल्याइसकेपछि उनीहरूको फिल्म अगाडि बढेको हो। राज्यसँग प्रोटेक्सनको नीति छैन। राष्ट्रिय उत्पादनको भन्दा पनि अन्तर्राष्ट्रिय बहुउद्देश्य कम्पनीको सामान बेच्न लगाएर कर उठाउने र कमिसन खानेतिर लागियो। अन्य उत्पादनमा कमिसनको खेल चले पनि फिल्ममा त्यो हुनुहुँदैन। किनकि फिल्म सांस्कृतिक पक्षसँग जोडिएको हुन्छ। यसले सांस्कृतिक मनोविज्ञान सिर्जना गर्छ। राज्यले नीतिगत तहबाट गर्ने हो भने एक-दुई वर्षमै नेपाली फिल्म उद्योगलाई धेरै परिवर्तन गर्न सक्छ।’

जेठ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्