पूँजीगत लाभकरलाई अन्तिम कर मान्न सरकार तयार भएपछि खुल्यो सेयर कारोबार

सांकेतिक तस्बिर।

काठमाडौँ – सेयर बजारका लगानीकर्ता र अर्थमन्त्री डा. प्रकाशशरण महतबीचको वार्ता सफल भएपछि सेयर बजार खुलेको छ।

पूँजीगत लाभकरलाई अन्तिम कर मान्नुपर्ने माग राख्दै लगानीकर्ताले सेयर कारोबार बन्द ‍गराए थिए। सरकारले आफ्नो माग सम्बोधन गर्न तयार भएसँगै बजार खुलेको हो।

वार्ता सफल भए सँगै लगानीकर्ताहरुले सम्पूर्ण ब्रोकर कार्यालयलाई कारोबार खुला गर्न आह्वान गरेका हुन्। उनीहरूले आज बिहानै लगाएको ताला खुलाउन समेत आग्रह गरेका छन्।

सेयर लगानीकर्ता र अर्थ मन्त्रालयबीच प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको छ।

सहमतिसँगै सेयर कारोबार खुलेको छ। सेयर लगानीकर्ताहरू ब्रोकरको कार्यालयमा टीएमएस खुला नगर्ने चेतावनी दिएर कारोबार बन्द गराइ अर्थमन्त्रीसँग छलफलको लागि मन्त्रालयमा गएका थिए।

अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले छलफलपछि सूचना जारी गर्दै सेयर कारोबार गर्ने प्राकृतिक व्यक्तिले नियमाअनुसार दाखिला गरेको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्ति कर हुने बताएको छ।

‘आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ,’ सूचनामा भनिएको छ, ‘त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम कर हुनेछ।’

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली र नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेशकुमार हमाल समेत सहभागी छलफलमा विगतको आय विवरण पेश गरेर कर तिर्नुपर्ने व्यवस्था कार्यान्वयन नहुने र प्राकृतिक व्यक्तिलाई पूँजीगत लाभकर नै अन्तिम कर कायम गर्ने सहमति भएपछि कारोबार सुरु हुने भएको हो।

 

जेठ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्