दाङमा अटो र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, तीन घाइते

दाङ – दाङमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामामा परेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा आज दिउँसो पूर्वबाट पश्चिमतर्फ गइरहेको भे १२ प ७५०४ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व गइरहेको रा १ ह ५६०१ नम्बरको तरकारी बोकेको अटो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परी अटो चालक घोराही–५ निवासी ३१ वर्षीय किरण रोकाको मृत्यु भएको छ। घाइते भएका रोकालाई उपचारका लागि सिसहनियाँ स्वास्थ्य चौकीमा ल्याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए।

त्यस्तै, दुर्घटनामा परी अटोमा सवार घोराही–१८ मसिना निवासी ५० वर्षीया दिलसरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका–३ वसन्तपुर निवासी ३४ वर्षीय दोर्णबहादुर चौधरी, मोटरसाइकलमा सवारमा सोही ठाउँ निवासी २६ वर्षीय सुन्दर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ।

घाइतेमध्ये मोटरसाइकलका घाइते दुवै जनालाई सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज र अटोमा सवार दिलसरा बादीलाई थप उपचार लागि घोराही पठाएको प्रहरीले बताएको छ।

अटो र मोटरसाइकल तीव्र गतिमा रहेको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।

जेठ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्