खार्पुनाथका ६० जना गर्भवतीको स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड

सिमकोट – दुुर्गमको ग्रामीण बस्तीमा बस्दै आएका ६० जना गर्भवतीको अल्ट्रासाउण्ड गरिएको छ। खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य चौकीको आयोजनामा चार वटा स्वास्थ्य चौकीमा ती गर्भवती महिलाको अल्ट्रासाउण्ड गरिएको हो।

गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले पहिलो पटक आफ्नै जनशक्तिको प्रयोगमा गर्भवतीको सफल अल्ट्रासाउन्ड सम्पन्न भएको बताए।

यसअघि जिल्ला अस्पतालबाट दक्ष जनशक्ति झिकाएर सो कार्य खार्पुनाथले गर्दै आएको थियो। उनले यस वर्ष एक जना एक जना स्वास्थ्यकर्मीलाई तालिम दिएर दक्ष बनाएपछि आफ्नै जनशक्तिबाट सो कार्य गरिएको बताए।

यसका लागि स्वास्थ्यकर्मी शारदा फडेराले चार वटा स्वास्थ्य चौकी राया, लाली, खर्पेलगाउँ र छिप्रा पुुगेर गर्भवतीको अल्ट्रासाउण्ड गरेकी थिइन्। जसमा लाली स्वास्थ्य चौकीमा बाह्र जना, राया स्वास्थ्य चौकीमा २४ जना, छिप्रा स्वास्थ्य चौकीमा ११ जना र खर्पेलगाउँ स्वास्थ्य चौकीमा १३ गर्भवतीमो अल्ट्रासाउण्ड गरिएको थियो।

यसअघि जिल्ला अस्पतालबाट जनशक्ति र युुएसजी मेसिन झिकाएर गर्भवतीको अल्ट्रासाउण्ड गरिए पनि यस पटकबाट भने आफ्नै जनशक्ति र युुएसजी मेसिनबाट अल्ट्रासाउण्ड गरिएको हो।

सो कार्य दुुई हप्तासम्म सञ्चालन भएको थियो। शाखाले अब प्रत्येक दुुई महिनामा गर्भवती महिलाको अल्ट्रासाउण्ड गर्ने कार्य स्वास्थ्य चौकीस्तरमा गर्नेछ।

शाखाकी स्वास्थ्यकर्मी जय जेठाराले यसबाट गर्भवती महिलाको गर्भावस्थाबारे पहिले नै जानकारी भएको बताइन्। अल्ट्रासाउण्ड गरिएकी गर्भवतीको गर्भको अवस्था सामान्य रहेको उनले बताइन्।

जेठ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्