नक्कली भुटानी शरणार्थी प्रकरण

अदालतको २२ प्रश्नमा टेकनारायण पाण्डेले के दिए जवाफ? (पूर्णपाठ)

काठमाडौँ – नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई अदालतमा बयानको क्रममा २० वटा प्रश्न सोधिएको छ।

प्रतिवादीहरूसँग जिल्ला अदालत काठमाडौँमा बयानका क्रममा उनलाई २० वटा प्रश्न सोधिएको हो। उनले अदालतमा दिएको बयानमा यसअघिको बयान खण्डन गरेका छन्।

यसअघि प्रहरीको दबाबमा परेर बयान दिएको उनको भनाइ छ। यसअघि स्वीकार गरेका र खुलाएका कतिपय विषय सचिव पाण्डेले अदालतमा इन्कार गरेका छन्।

टेकनारायण पाण्डेले अदालतमा गरेको बयानको पूर्णपाठ: 

१. तपाईंको बाबु, आमाको नाम थर, तपाईंको नाम, थर, उमेर, के हो? स्थायी ठेगाना कहाँ हो? सम्पर्क नं के हो? तपाईं कुन पेशा, व्यवसाय वा संस्थामा संलग्न हुनु हुन्छ? विस्तृत विवरण सहित खुलाईदिनुहोस्।

बुबाको नाम भगवती प्रसाद पाण्डे, आमाको नाम स्वर्गीय नमकला पाण्डे र मेरो नाम टेकनारायण पाण्डे हो। म ५१ वर्षको भएँ। अर्घाखाँची जिल्ला, छत्रदेव गाउँपालिका वडा नं. ७ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३२ पुरानो सिनामंगलमा बस्दछु। नेपाल सरकारको बहालवाला सचिव हुँ।

२. तपाईं आज अदालतमा किन आउनु भएको हो?

गजेन्द्र बुढाथोकी समेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी म समेत भएको ठगी, लिखतं कीर्ते, राज्यविरुद्ध र संगठित अपराध मुद्दामा अभियोगपत्रसाथ बयानको लागि उपस्थित भएको हुँ।

३. तपाईंलाई तपाईं उपर लागेको अभियोग सुनाइन्छ, सो अभियोग उपर वयान दिन कर छैन, तपाईंले दिएको बयान तपाईंको विरुद्धमा प्रमाण लाग्न सक्छ, तपाईं वयान दिन तयार हुनुहुन्छ?

म बयान दिन तयार छु। मेरो बयान गरी पाउँ।

४. तपाईंले यो भन्दा अगाडी कुनै फौजदारी अभियोगमा सजाय पाउनुभएको छ, छैन? खुलाईदिनुहोस्।

यो भन्दा अगाडी कुनै फौजदारी कसुरमा सजाय पाएको छैन। हाल विचाराधिन अवस्थामा समेत कुनै मुद्दा छैन।

५. तपाइको शारीरिक तथा मानसिक स्वास्थ्य अबस्था कस्तो छ? तपाईंलाई सोधिएको प्रश्नको जवाफ दिन सक्नु हुन्छ हुन्न ? तपाईंले कानून व्यावसायी राख्नु भएको छ, छैन कानून ब्यवसायी राख्न सक्नु हुन्छ हुन्न ?

शारीरिक रुपमा म क्यान्सरको समाइवर हुँ। नियमित फलोअपमा छु। प्रहरीमा बयान दिंदा मानसिक दबाबमा थिएँ। अहिले जवाफ दिन सक्ने अवस्थामा छु। मैले कानुन व्यवसायी नियुक्त गरेको छु।

६. प्रतिवादीहरू मध्ये क–कस्लाई चिन्नुहुन्छ? निजहरुसँग लेनदेन रिसइवी झगडा छ छैन?

प्रतिवादीहरु मध्ये बालकृष्ण खाँड, नरेन्द्र के।सी।, टोपबहादुर रायमाझी, शमशेर मियाँलाई चिन्दछु। बालकृष्ण खाँड र नरेन्द्र के।सी। मन्त्रालयमा सँगै काम गरेको हिसाबले, शमशेर मियाँ हज कमिटीको अध्यक्षको हिसाबले र टोप बहादुर रायमाझी जिल्लाको जनप्रतिनिधीको हिसाबले चिन्दछु। केशव प्रसाद दुलालसँग सूचना लिने प्रयोजनको लागि सम्पर्क मात्र भएको हो। उहाँसँग अरु कुनै चिनाजान छैन। निजहरुसँग कुनै रिसइवी र झगडा छैन। अरु प्रतिवादीहरुलाई म चिन्दिन।

७. जाहेरवाला गजेन्द्र बुढाथोकी समेत विभिन्न जाहेरवालांहरुले तपाईं समेतको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाईदिने भनी रकम लिई अमेरिका नपठाई रकम फिर्ता समेत नगरी ठगी गरेको भन्ने जाहेरी दरखास्तहरु छन्, सो सम्बन्धमा तपाईंलाई थाहा छ? को(को भई के कसरी जाहेरी दरखास्तमा उल्लेख गरे अनुसारको कसूर गर्नुभएको हो? खुलाइदिनुहोस्।

गजेन्द्र बुढाथोकी मन्त्रालयमा शरणार्थी विषयमा बुझ्न आएका थिए, उनी आफुसमेत भएर व्यक्तिहरुसँग पैसा उठाएका रहेछन्। भुटानी शरणार्थी तेस्रो देश स्थानान्तरण हुने काम मन्त्रालयबाट हुँदैन, तपाईंं आफूले लिएको पैसा फिर्तागर्न सक्ने भए फिर्ता गर्नु, तपाईंंले अरुलाई दिएको पैसा फिर्ता लिन सक्नेसँग फिर्ता गर्नु र फिर्ता हुन सक्ने अवस्था छैन भने जाहेरी दिनु भनेर मैले भनेको हुँ। त्यसपछि जाहेरी दिएका हुन्। अरु जाहेरीकर्तासँग मेरो कुनै सम्पर्क छैन। भुटानी शरणार्थीका नाममा विदेश पठाएर ठगी गर्ने कार्यमा मेरो कुनै संलग्नता छैन। यस सम्बन्धमा मैले कुनै कसुर गरेको छैन। अरु को कसको के कस्तो संलग्नता छ सो सम्बन्धमा समेत मलाई कुनै जानकारी छैन।

८. तपाईंंलाई सह–प्रतिवादीहरू केशव प्रसाद दुलाल र टेकनाथ रिजाल समेतका प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान तथा थप बयान समेत पढीबाँची सुनाइन्छ निजहरुले गरेको उक्त बयानहरुको सम्बन्धमा तपाँईको के भनाई छ? खुलाई दिनुहोस्।

प्रतिवादी केशव प्रसाद दुलालले भने जस्तो निजसँग मेरो कुनै आर्थिक कारोवार भएकै छैन। निजले भनेजस्तो कामती थरका सुरक्षाकर्मी मेरो सुरक्षा गार्डको रुपमा हालसम्म खटिएका छैनन्। मन्त्रालयको कर्मचारी बाहेक अरुलाई झोला लगायत कुनै पनि सामाग्री  लिएर मन्त्रालयमा प्रवेश गर्ने अवस्था नै रहँदैन। मुलगेट देखि सचिवालयसम्म विभिन्न तहमा सुरक्षा चेकजाँच गरेर मात्र अत्यावश्यक भेटघाटको लागि मात्र प्रवेश गराउने व्यवस्था छ। निमन्त्रणा कार्ड समेत सुरक्षाकर्मीले चेकजाँच गरी सुरक्षाकर्मीकै रोहवरमा बुझाउने व्यवस्था रहेकोमा निजले भनेजस्तो रकम छोड्ने अवस्था कुनैपनि समयमा सम्भव नै हुँदैन। केशव प्रसाद दुलाललाई मन्त्रालयमा प्रवेश गर्न विशेष निगरानी र नियन्त्रण गरिएको थियो। दुवै सचिवालय निजका क्रियाकलाप प्रति सचेत थिए। सो आरोप सबै झुट्टा र काल्पनिक हो। टेकनाथ रिजालले बयानमा भनेजस्तो इन्द्रजित राई र टोप बहादुर रायमाझीको कार्यकालमा म गृह सचिव थिइन। निजको कुरा काल्पनिक हो। मेरो संलग्नताको सम्बन्धमा को कसबाट के कति कुरा सुन्नुभएको हो सो समेत बयानमा खुलाउन सक्नुभएको छैन। केवल सुनेको थिएँ भनी के आधारमा लेखाउनु भयो सो सम्बन्धमा मलाई जानकारी भएन।

९. प्रतिवादी केशव प्रसाद दुलाल र तँपाई वीच विभिन्न मितिमा भएको म्यासेज सम्बन्धमा तँपाईको भनाई के छ? खुलाईदिनुहोस्।

सम्वादमा प्रयोग गरिएको मोबाईल मेरो व्यक्तिगत नं. होइन। मन्त्रालयको सचिवालयमा भएको नम्बर प्रयोग गरिएको हो। गृह सचिवलाई सुराकी प्रयोग गरी सूचना संकलनको जिम्मेवारी र अधिकार हुन्छ। केशवप्रसाद दुलाललाई शंका, सूचना र अनुसन्धानको सूचीमा राखी प्रणालीका लागि आवश्यक सूचना लिनको लागि सम्पर्क स्थापित भएको हो। म व्यस्त भएको समयमा मोबाईल सचिवालयमा छाड्ने र सो समयमा केही संवादमा सचिवालयका कर्मचारीले जवाफ फर्काएको अवस्था पनि हो। स्क्रिनसट गरिएका केही संवादहरु सम्पादन गरिएको पनि हुन सक्छन्। Response dose not need to be an action (संवाद कार्यमा रुपान्तरण हुन्छ भन्ने हुँदैन ), त्यस्तै दुलालसँगको संवाद सुराकी प्रयोजनका लागि भएको हुँदा उक्त संवाद अनुरुपको व्यवहार र कार्य भएको छैन। सम्पर्क सम्बन्धमा रुपान्तरण हुन्छ भन्ने हुँदैन, दुलालसँगको सम्पर्क सम्बन्धमा स्थापित भएको छैन।

१०. तपाईंले अधिकार प्राप्त अधिकारी समक्ष गर्नुभएको सबै बयानहरु व्यहोरा–पढीबाँची सुनाइन्छ सो बयानहरुको व्यहोरा तँपाईको हो वा होइन? र उक्त बयानहरुमा भएका सहीछापहरु तँपाईका हुन् वा होइनन्?

मैले अनुसन्धान अधिकारी समक्ष गरेको बयान व्यहोरा मैले दवावमा गरेको मध्यरातमा निद्रामा भएको अवस्थामा मेट्रो प्रहरीमा पटक पटक लगी मानसिक रुपमा व दिइएको थियो बयान पनि प्रहरी घेरामा राखी गराएर अन्तिममा सरकारी वकीलकों सहीछाप गराइएको हो।

अनुसन्धानमा भएको बयान व्यहोरा केही मैले लेखाए बमोजिमको सत्य हो भने गराइएको हो। अनुसन्धानमा भएको बय व्यहोरा केही मैले लेखाए बमोजिमको सत्य हो भने केही व्यहोरा प्रहरीको बहकावमा गरिएको छ। सो सम्बन्धमा मैले मेरो अनुसन्धानमा भएको मिति २०८०।०२।०३ को थप बयानमा समेत खुलाएको छु। सोमा भएको सहीछाप मेरी नै हो।

११. अनुसन्धानका क्रममा बुझिएका बालकृष्ण पन्थी, सागरमणी पाठक र फणिन्द्रमणि पोखरेल, नबर्दा घिमिरे, गणेश बहादुर के.सी. समेतका व्यक्तिहरुले अनुसन्धानको क्रममा गरेको कागज व्यहोरा पढीवांची सुनाइन्छ निजहरुको भनाई व्यहोरा के कसो हो? खुलाई दिनुहोस्।

सुराकीबाट प्राप्त सूचनाका आधारमा बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन जुन अघिल्लो सरकारले निश्चित प्रकृयमा पुयाएको थियो त्यसलाई शीघ्र नेपाल सरकारबाट स्वीकृत गर्नुपर्ने अवस्था थियो। तसर्थ उक्त विषयको सूचना विभागीय मन्त्रीलाई दिइएको थियो, तल्लोतहको कर्मचारीलाई उक्त सूचना दिइरहनु आवश्यक थिएन। मन्त्रिपरिषद्मा पेश भई स्वीकृत भएको प्रतिवेदन अघिल्लै क्याविनेटमा पेश भएको प्रतिवेदन हो।

मन्त्रिपरिषद्को अभिलेखमा बसेको प्रतिवेदन र मन्त्रीपरिषदबाट स्वीकृत भई छाप लागि मन्त्रालयमा प्राप्त भई सचिवको तोक आदेश भएपछि अभिलेखमा राखिएको कागजात कुनै पनि हालतमा हटाउन वा प्रतिस्थापन गर्न सकिँदैन। अभिलेख राख्ने कर्मचारीले क्याविनेटमा स्वीकृत भएको प्रतिवेदन सरासर गल्ती र अभिलेखमा हुँदाहुँदै अनुसन्धान प्रयोजनका लागि अर्को प्रतिवेदन पठाउनु कमजोरी हो। सो विषयमा डकुमेन्ट सिर्जना र अभिलेख दुवैमा भूमिका नभएका सचिव र मन्त्रीलाई दोष लगाउनु आफ्नो कमजोरी पन्छाउनु मात्र हो। सो प्रतिवेदन सम्बन्धमा उहाँले किन यस्तो व्यहोरा लेखाउनु भयो सो सम्बन्धमा मलाई जानकारी भएन।

१२. प्रतिवादी नरेन्द्र के.सी.को साथबाट बरामद भएको तँपाईको हस्तलिखित भनी मिसिल साथ पेश भएको कागज देखाइन्छ सो सम्बन्धमा तँपाईको भनाई के छ? खुलाइदिनुहोस्।

प्रतिवादी नरेन्द्र के.सी.को साथबाट बरामद भएको र मिसिल साथ पेश भएको भनिएको कागज देखाउँदा देखेँ। मिति २०८०।०१।१९ का दिन मलाई पक्राउपूर्जी जारी हुँदैछ भन्ने जानकारी अनौपचारिक रुपमा पाएपछि हतासमा वैयक्तिक भावना र सन्देश व्यक्तिगत प्रयोजनका लागि नोटबुकमा लेखेको थिएँ। उक्त राती म बस्न घर बाहिर गएँ, बाहिर जाने क्रममा ट्याक्सीमा उक्त नोटबुक छुट्न गएछ। सो नोटबुक नरेन्द्र के.सी. समक्ष कसरी पुग्यो मलाई थाहा भएन। सायद नोटबुकमा नरेन्द्र के. सी. को फोन नम्बर भएर ट्याक्सी “ड्राइभरले छोडेको हो की थाहा भएन। उक्त सन्देश पक्राउ पर्ने सूचना भएपछि मानसिक दबाबमा लेखेको हो, पठाउने प्रयोजनले लेखेको होइन । उक्त लेखाईबाट अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभाव पार्ने मेरो कुनै मनसाय होइन।

१३. मिसिल संलग्न रहेको गृह मन्त्रालयको च.नं. ४० मिति २००।०१।२६ को पत्रसाथ प्राप्त भएको भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन गठित कार्यदलको प्रतिवेदन र गृह मन्त्रालयको च.नं. ४३ मिति २००।०१।२६ को पत्रसाथ प्राप्त प्रतिवेदन तँपाईले प्रमाणित गर्नुभएको रहेछ दुवै प्रतिवेदन एकै व्यहोराका हुन् वा फरक हुन् प्रतिवेदन तँपाईलाई देखाइन्छ के कसो हो? खुलाईदिनुहोस्।

मेरो अनुसन्धानमा मिति २०८०।०१।२७ मा भएको बयान सवाल नं. ८ मा भएको गृहमन्त्रालयको च.नं. ७२४ साथ पेश भएको भनिएको प्रतिवेदन र मन्त्रीपरिषदमा स्वीकृत भएको प्रतिवेदन मेट्रो प्रहरीमा अनुसन्धानको क्रममा देखाइएको थियो। हाल मिसिलमा संलग्न पाइएन। प्रधानमन्त्री कार्यालयबाट झिकाई मिसिलमा संलग्न गरी हेरेपछि यस विषयमा थप स्पष्ट गर्न सकिन्छ।हाल देखाइएका प्रतिवेदनको आधारमा प्रतिवेदनको विषयमा निचोडमा धारणा राख्न सकिएन ती दुईवटा प्रतिवेदन प्राप्त भएपछि प्रतिवेदनको बिषयमा थप नामाकरण गर्नेछु।

१४. तपाईंंलाई घटना विवरण कागज गर्ने व्यक्ति धर्मराज शाहीले गर्नुभएको कागजको व्यहोरा सुनाइन्छ,उक्त कागजमा तँपाईको नाउँमा रहेको खातामा हिमालय बैंक लिमिटेड, एभरेष्ट बैक लिमिटेड र कर्मचारी सञ्चयकोषमा समेतमा विभिन्न मितिमा विभिन्न रकम तँपाईले पठाई आफूले जम्मा गरेको भनी कागज गरेका छन् के– कसो हो खुलाई दिनुहोस्। 

मैले २०७८ श्रावण भदौमा घर खरिद गरेको, उक्त घर खरिद गर्दा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट ऋण र विशेष सापटी लिएको उक्त रकम तिर्नको लागि निजलाई लगाएको हो। सो रकम तिर्नको लागि जग्गा विक्री, शेयर कारोवारको आम्दानी, विमा परिपक्क भएर प्राप्त रकम र म तथा मेरो श्रीमतीको जागिरबाट प्राप्त वार्षिक आयबाट करिब एक करोड दुई लाख वार्षिक आयस्रोत रहेको छ। सोही आयस्रोतबाट उक्त भुक्तानी भएको छ। आयस्रोतको विवरण सम्मानित अदालत समक्ष थुनछेक बहसका क्रममा पेश गर्नेछु।

१५. तपाईंलाई प्रेमराज पन्थीको जाहेरी दरखास्त देखाइन्छ जाहेरी सम्बन्धमा तपाईंको भनाई के छ? खुलाईदिनुहोस्।

प्रेमराज पन्थीलाई म चिन्दिन । केशव दुलालले निजलाई कसरी प्रलोभनमा पारे त्यो विषय मलाई थाहा भएन। शरणार्थीलाई अमेरिका पठाउने भनी कसैलाई पनि मैले भेटमा. “फोनमार म्यासेजमा भनेको छैन।

१६. अनुसन्धानको क्रममा सहदेव नेत्र विक्रम कैटी, प्र.स.नि.ज्ञानेन्द्र पन्त, चोमेन्द्र न्यौपाने समेतका व्यक्तिहरुले गरेको काजंग व्यहोरा पढीवांची सुनाइन्छ के कसो हो?

अनुसन्धानको क्रममा सहदेव नेत्र विक्रम कैटी र प्र.स.नि. ज्ञानेन्द्र पन्तलाई बैक वा सञ्चयकोष पैसा निकाल्न र राख्न पठाउने गरेको कुरा सत्य हो, गृहसचिव आफै बैक धाउन व्यस्तताले मिल्ने कुरा भएन। चोमेन्द्र न्यौपानेलाई केशव दुलाल भेट गर्न आउँछन् के कुरा गर्छन् बुझ्नु र निजको गतिविधि निगरानी गर्नू भनेको हो। निजहरुसँग अन्य कुरा केही छैन।

१७. अनुसन्धानका क्रममा ना.सु. सुरेन्द्रराज दाहालले मिति २०८०।०१।२४ मा गरेको कागज पढ़ीवाँची सुनाइन्छ के कसो हो? खुलाईदिनुहोस्।

उक्त कागज पढीवाची सुनाउँदा सुनी पाएँ। निज ना.सु. सुरेन्द्रराज दाहालको सरुवा नियमित सरुवा नै हो। गृहमन्त्रालय अन्तर्गत सरुवाको लागि अन्य निकायमा जस्तो सरुवाको अवधी लागु हुँदैन र ना.सु.को सरुवाको निर्णय सचिवस्तरमा पनि पुग्दैन। निजले भनेजस्तै समितिले गर्नुपर्ने काम गर्न तथा शिविरमा र शरणार्थीको नाममा हुने अवैध गतिविधि निगरानी गर्न निजलाई र प्र. जि. अ. तथा सहायक प्र. जि. अ. लाई निर्देशन दिएको हो। निजले भनेका अरु कुरा सरुवा भएकोमा व्यक्त गरेका व्यक्तिगत आक्रोस र भावना मात्र हुन्।

१८. तपाईं उपर मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) अन्तर्गतको कसुरमा सोही संहिताको दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सजाय हुन, मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिमको कसुरमा सोही संहिताको दफा २७६ को उपदफा (३) (ग) बमोजिम सजाय हुन, मुलुकी अपराध संहिता, २०७४को दफा ५१ को उपदफा (१) र (२) को खण्ड (क) बमोजिम राज्य विरुद्धको कसुरमा सोही संहिताको दफा ५१ को उपदफा (४) को देहाय (क) बमोजिम सजाय हुन र संगठित अपराध निवारण ऐन, २०७० को दफा (३) को उपदफा(१)(२) र (३) को खण्ड (क) तथा दफा (५) बमोजिमको कसुरमा सोही ऐनको दफा ( ९ ) को खण्ड (क) र (ग) बमोजिम सजाय हुन र मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा(१) बमोजिमको कसुरमा सोही संहिताको दफा ४३ को उपदफा (२) बमोजिम सजाय हुन समेतको अभियोग माग दावी लिइएको छ र जाहेरवालाहरुको अठ्ठाइस करोड एकासी लाख चौहत्तर हजÞार रकम समेत तँपाई समेतबाट दिलाई भराई दिन समेतको अभियोग मागदावी लिइएको अभियोगपत्र छ सो अभियोग माग दावी बमोजिम तँपाईलाई सजाय हुनुपर्ने हो होइन? र कुम तँपाई समेतले फिर्ता दिनुपर्ने हो वा होइन? सम्पूर्ण व्यहोरा जाहेरवालाहरु खुलाईदिनुहोस्।

मन्त्रालयको काम गर्दा सुराकी प्रयोजनका लागि सूचना पार्न केशवप्रसाद दुलालसँग सम्पर्कमात्र भएको हो, कुनै पनि प्रकारको सम्बन्ध कायम भएको छैन। जाहेरीका अन्य प्रतिवादीहरु कसैसँग पनि मेरो शरणार्थी विषयमा सम्पर्क र सम्बन्ध भएको छैन।

शरणार्थी विषयको नेपाल सरकारको निर्णय र मन्त्रालयको कामले सरकार र राज्यलाई बदनाम हानी हुने कुनै पनि काम मबाट भएको छैन। भुटानी शरणार्थी समस्यालाई समयमा सरकारबाट निर्णय गरी सामाधान नगरिएको अवस्थामा झन् भयावह अवस्था उत्त्पन्न हुने सूचनाका आधारमा उक्त काम सम्पादन गर्नु परेको हो। भुटानी शरणार्थीहरुलाई मानवीय पहिचान र मानवीय सहायता प्रदान गरी राज्यविहिन अवस्थाबाट मुक्त गर्नु राज्यको दायित्व पूरा गर्ने भुमिका निर्वाह गरिएको हो।

यसमा राज्यलाई हानी हुने कुनै काम म बाट भएको छैन। शरणार्थी समस्या सम्बन्धमा नेपाल सरकार र मन्त्रालयको निर्णय र कार्यले विगतमा सो भएका अवैध गतिविधि रोकिएर विषयलाई मुद्दा बनाएर तेस्रो देश स्थानान्तरण गर्ने नाममा सो काममा संलग्न व्यक्तिहरुले पैसा फिर्ता गर्न पीडितहरुले आफ्नो पैसा फिर्ता माग्दा नसकेपछि जाहेरीका प्रतिवादीहरुले प्रतिसोध स्वरुप म माथि आरोप र लाञ्छना लगाएका हुन्। Dr. Karl Menninger (मनोविज्ञ ) को भनाई Attitudes are more important than facts यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ। मेरो नियत र प्रवृति भुटानी शरणार्थी समस्याको मानवीय संवेदना समयमा समाधान होस् भन्ने थियो। कुनै कलुसित भावनाले मैले प्रस्तुत विषयमा कुनै काम गरेको छैन। कुनै नाजायज लाभ लिएको छैन, कसैसँग यो विषयमा गठजोर गरेको छैन, राज्यलाई हानी हुने र अन्तराष्ट्रिय स्तरमा राज्यको छविमा आँच आउने कुनै कार्य गरेको छैन। माथि उल्लेखित कुनै पनि कसुर मैले नगरेकाले मलाई एकीकृत कसुमा सजाय हुने कुरै भएन।

१९. तपाईंको परिवारमा कति सदस्य हुनुहुन्छ? आर्थिक अवस्था सम्बन्धमा खुलाईदिनुहोस्।

मेरो परिवारमा ९० बर्षको बुवा, म, श्रीमती, छोरा र छोरी गरी पाँचजना सदस्य छौं। आम राष्ट्र सेवकको औषत हैसियत भन्दा पनि कमजोर आर्थिक हैसियतमा म छु। श्रीमतीको पनि नेपाल सरकारको लेखापाल (सीटीईभीटी) को जागिर छ। गृहसचिव भएपछि सुरक्षाकर्मी व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण ऋण धन गरी घर किनेको हो। उक्त घरको ऋण भुक्तानी गर्न अझै बाँकी छ।

२०. तपाईं‌को साक्षी प्रमाण केही छ की खुलाईदिनुहोस। 

मेरो निम्न साक्षी प्रमाण बुझी पाउँः

(क) नुवाकोट जिल्ला, समुन्द्रटारी गाउँपालिका वडा नं. ३ बस्ने अन्दाजी वर्ष ५१ को मधुकर पाण्डे
(ख) गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका, वडा नं. ७ घर भई हाल काठमाडौं सुन्धारा बस्ने अन्दाजी वर्ष ४५ को तुल्सीराम भण्डारी।

२१. तपाईंको अरु केही भन्नु छ की?

म आफूलाई इमान्दार राष्ट्र सेवकको रुपमा मान्दछु। २९ वर्षको सेवा अवधिमा नियमले पाउने घर बिदा र क्याबि तथा पर्व बिदा समेत नलिएर एक मिनेट पनि सरकार र राज्यको काम नठगी उच्च आदर्शकांसाथ सेवारत छु। लगभग ३८ महिना सरकार र राज्यको लागि अतिरिक्त र निशुल्कः सेवा गरेको छु। मबाट राज्यलाई ठग्ने र व्यक्तिलाई दुःख दिने कुनै नियत कल्पना गर्न पनि सक्दिन। म माथि लगाइएका सम्पूर्ण आरोपहरु निराधार हुन्। झूट्टा आरोपबाट सफाई पाउँ भनी विनम्र अनुरोध गर्दछु। कुनै प्रतिवादीले मलाई पोल गरी बयान गरेमा जिरह गर्न पाउँ। मेरो बिरामी उपचार हुँदाका कागजोत, आर्थिक विवरण लगायत कागजात संलग्न छन्।

२२. माथी उल्लिखित व्यहोरा पढीबाँची सुनाइन्छ। व्यहोरा कसो भयो? खुलाई दिनुहोस्।

माथि लेखिएका सबै व्यहोरा मैले भने बमोजिम लेखिएको हो।

जेठ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्