सन्दीप सोमबार साँझ दक्षिण अफ्रिका प्रस्थान गर्दै, फौजदारी मुद्दामा सन्दीप ‘अपवाद’

काठमाडाैँ – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने सोमबार साँझ प्रशिक्षक मोन्टी देशाइसँगै दक्षिण अफ्रिका प्रस्थान गर्ने पक्का भएको छ। जिल्ला अदालतले बलात्कार आरोपमा मुद्दा खेपिरहेका सन्दीपलाई ‘अपवाद’का रूपमा लामो समय तारिख स्थगित गरेपछि उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो।

सन्दीपका कानुन व्यवसायीले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै सोही अनुसारको निवेदन दिएपछि लामो समयसम्मका लागि तारिख स्थगित गर्ने निर्णय भएको हो।अब सन्दीप प्रतियोगिताभर तारिख बुझ्नका लागि नेपाल फर्किनु पर्ने दबाबबाट मुक्त भएका छन्।

सर्वोच्च अदालतले सन्दीपलाई विदेश जानका लागि अनुमति दिए पनि गम्भीर फौजदारी मुद्दामा लामो समय तारिख स्थगन गर्न पाइँदैन। तारिख स्वयं व्यक्तिले बुझ्नुपर्ने भएकाले सन्दीपको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा अनिश्चित बनेको थियो। खेल्नका लागि विदेश जाने अनुमति पाए पनि फौजदारी मुद्दामा लामो समय तारिख स्थगित गर्ने चलन छैन। तर सन्दीपलाई भने ‘अपवाद’ का रूपमा सहभागिता जनाउन पाउन लागेका हुन्। सन्दीपका वकिलले राष्ट्रको प्रतिनिधित्वको विषय भएको र सोहीअनुसारको समय उपलब्ध गराउनका लागि निवेदनमा माग गरेका थिए।

सन्दीपको मुद्दामा सर्वोच्च अदालतले ‘सार्वजनिक’ व्यक्तिको रूपमा व्यवहार गरेको सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जानकारी दिए।

उनले भने, ‘फौजदारी अभियोगमा यति लामो समय तारिख दिंदैन। यो त अझ साप्ताहिक रुपमा हेरिरहेको मुद्दा हुनाले हप्तैपिच्छे राखिराखेको हो। हेयरिङ ढिला भएकाले हामीले निवेदन गर्नुपर्ने आवश्यकता भएको हो,’ उनले थपे, ‘अपवाद’का रूपमा सन्दीपले राष्ट्रको लागिनै प्रतिनिधित्व गर्नु पर्ने र सार्वजानिक व्यक्तित्व र खेल्नका लागि सर्वोच्चले दिएको अनुमति सबै कारणले गर्दा पेसी लामो समय स्थगित गर्न निवेदन दिएका थियौँ। सोहीअनुसार अनुमति प्राप्त भएसँगै सन्दीपको विश्वकप छनोट खेल सहज भएको हो।’

असार २९ गते अर्को तारिख

अदालतले सन्दीपको मुद्दामा अब असार २९ गतेको तारिख तोकेको छ। सन्दीप विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतलाई आफू नेपाल फर्किएको जानकारी गराउनेछन्। त्यसपछि २९ असारमा तारिख बुझेपछि त्यसकाे अर्को साता पेसी तोकेर सुनुवाइ सुरु गरिनेछ। यो बीचमा पीडित पक्षले मागेको क्षतिपूर्तिको सनुवाईले किनारा पाउने विश्वास घिमिरेले व्यक्त गरे। उनले भने, ‘सर्वोच्चको आदेश अनुसार उनीहरूले उपचार खर्चको माग गरेका छन्। जसका लागि अदालतले आवश्यक बिल भर्पाइ माग गरेको छ। अब सोहीअनुसार मुद्दाले किनारा पाएपछि फाइनल चरणको सुनुवाइ सुरु हुन्छ।’

जिल्ला अदालतले क्षतिपुर्तिको विषय टुंगिएर मात्र अन्तिम चरणको सुनुवाइ सुरु हुने भनेकाले अब सोही अनुसार यो बीचमा क्षतिपूर्तिको विषयले किनारा पाउनु पर्ने हुन्छ। घिमिरेले भने, ‘अब डाक्टरको प्रतिबेदन जति चाँडो अदालतमा आउँछ त्यतिचाँडो यो विषय टुंगिन्छ। अस्तिको सुनुवाइमा पनि अदालतले क्षतिपूर्तिको विषय टुंग्याएपछि फाइनलचरणको बहस सुरु हुने भएकाले अब हामीपनि स्ट्रोङ्ली यो विषयलाई यो बीचमा टुंग्याउनका लागि लाग्ने छौं।’

मोन्टी र सन्दीप सोमबार साँझ दक्षिण अफ्रिका जाँदै

अब सन्दीप प्रशिक्षक मोन्टी देशाईसँगै दक्षिण अफ्रिका प्रस्थान गर्ने छन्। देशाई भिसा समस्याका कारण गत मंगलबार टिमसँगै दक्षिण अफ्रिका जान पाएका थिएनन्। तर उनको सबै प्रक्रिया पूरा भएकाले अब सन्दीप र मोन्टीसँगै दक्षिण अफ्रिका जान लागेका हुन्। क्यान स्रोतका अनुसार सन्दीप र मोन्टी सोमबार राति २ बजेको फ्लाइटमार्फत दक्षिण अफ्रिका जाँदै छन्।

उनीहरू कतार एयरवेजको विमानमार्फत् दक्षिण अफ्रिका प्रस्थान गर्न लागेका हुन्। नेपालले दक्षिण अफ्रिकामा केही अभ्यास खेल खेल्ने कार्यतालिका रहेको छ। नेपाली टिम त्यतैबाट जिम्बाब्वे प्रस्थान गर्नेछ।

जेठ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्