नयाँ ऐनअनुसार वंशजको नागरिकता पाउनेहरूले भने, ‘यो हाम्रा लागि उत्सव हो’

नयाँ विधेयकका आधारमा नागरिकता पाएका बिर्तामोड ४ का शुभम वंशल र सिद्दी अग्रवाल ।

झापा – केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकअनुसार अंगीकृत वा जन्म आधारका नागरिकता भएका बाबु-आमाका छोराछोरीलाई आइतबारदेखि जिल्ला प्रशासन कार्यालय झापाले वंशजको नागरिकता उपलब्ध गराउन शुरु गरेको छ ।

दुई दिनअघि गृह मन्त्रालयले गरेको परिपत्रका आधारमा जिल्ला प्रशासन कार्यालय झापाले बाबुको नागरिकता वंशजको नभएका र आमाको वंशजको नागरिकता भएका नागरिकता प्राप्त गर्ने उमेर पुगेकाहरूलाई वंशजको नागरिकता दिन शुरु गरिएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार अहिलेलाई बाबु-आमाकै नागरिकता भएका र पहिला दिन नमिलेकाहरूलाई अहिले नागरिकता उपलब्ध गराउन शुरु गरिएको हो। आइतबार अपराह्नदेखि जिल्ला प्रशासन कार्यालय झापा त्यस्ता नागरिकता लिने मान्छेहरूको घुइँचो लागेको छ।

बाबु-आमाकै नेपाली नागरिकता भए पनि धेरैले छोरा-छोरीको नागरिकता बनाउन सकिरहेका थिएनन्। बाबुको वंशजको नागरिकता अनिवार्य थियो। तर अहिले त्यो प्रावधान नयाँ विधेयकले हटाइदिएपछि त्यस्ता धेरैले नेपाली नागरिकता बनाउने अवसर पाएका छन्।

आइतबार नागरिकता पाएपछि झापा बिर्तामोड ४ का शुभम बंशलले निकै खुशी व्यक्त गरे। सवारी चालक अनुमति पत्र लिन, बैंक खाता खोल्न, अध्ययनका लागि विदेश जानसमेत पाइने भएकाले आफूलाई धेरै खुशी लागेको उनले बताए।

उनले भने, ‘खुशीको सीमा नै छैन। अब चाहिँ भविष्य बन्छ कि भन्ने भयो। नत्र म कुन देशको नागरिक हो भन्ने नै थिएन।’

नागरिकता पाएपछि शुभमजस्तै बिर्तामोड ४ कै सिद्दी अग्रवालले पनि अब नेपालको नागरिक हुँ भनेर गर्वका साथ भन्न सक्ने भएको प्रतिक्रिया दिइन्।

उनले भनिन्, ‘नागरिकताविहीन नागरिक कस्तो हुन्छ भन्ने कुरा हामीलाई सोध्दा हुन्छ। कुनै मानिस अनागरिक भन्ने हुन्छ र! तर हामी भयौँ। अब भने हामी यो देशको नागरिक हुँ भन्दा गर्व लाग्छ।’

बाबुको जन्मका आधारमा वा अंगीकृत नागरिकता भएका तर आमाको वंशजकै नागरिकता भएर पनि नागरिकता बनाउन नसकेका नेपालमै जन्मेका नागरिकले नागरिकता पाएपछि उत्सव जस्तै लागेको प्रतिक्रिया दिएका छन्।

जेठ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्