पुलिससँग मछिन्द्र पराजित भएसँगै चर्च ब्वाइजलाई उपाधिका लागि अब एक जित आवश्यक

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी चर्च ब्वाइज उपाधिनजिक पुगेको छ। आइतबार भएको खेलमा उपाधि होडमा रहेको मछिन्द्र फुटबल क्लब नेपाल पुलिससँग पराजित भएसँगै अब चर्च ब्वाइजलाई अन्तिम दुईमध्ये एक खेलमा जित निकाले च्याम्पियन बन्ने छ। तर मछिन्द्रलाई उपाधिका लागि आफ्ना अन्तिम दुई खेलमा जितसँगै चर्च ब्वाइजको नतिजासमेत कुर्नुपर्ने समीकरण बनेको हो।

च्यासल मैदानमा आइतबार भएको खेलमा पुलिसले २–१ को जित निकाल्यो। पुलिसको जितमा मोसेस ग्याबाह त्वामले दुई गोल गर्दा मछिन्द्रका लागि आफिज ओलावालेले एक गोल फर्काए। खेलमा अग्रता भने २७ औं मिनेटमा आफिज ओलावालेको गोलमार्फत मछिन्द्रले लिएको थियो। तर अन्तिम २५ मिनेटमा मछिन्द्र लगातार दुई गोल खान पुग्यो।

७५ औँ मिनेटमा मोसेसले फ्रिकिकमार्फत गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याउँदा दोस्रो गोल उनले नै ८१ औँ मिनेटमा सम्भव बनाउँदै मछिन्द्रलाई स्तब्ध बनाए। पुलिसको यो जारी लिगमा ११ औँ जित हो। पुलिस २४ खेलमा ३७ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

अब अन्तिम दुई खेल बाँकी रहँदा अब मछिन्द्रले हिमालयन शेर्पा र मनाङसँग प्रतिस्पर्धा गर्न बाँकी छ। चर्च ब्वाइजले रेलिगेशनको डरमा रहेको थ्री स्टार र एफसी खुमलटारसँग प्रतिस्पर्धा गर्नेछ। यी दुईमध्ये एक टिमलाई जितेमा चर्च ब्वाइज च्याम्पियन बन्ने छ।

खुमलटारको रेलिगेशन सम्भावना बढ्यो


आइतबार नै भएको खेलमा रेलिगेशन क्षेत्रमा संघर्षरत खुमलटार भने संकटा क्लबसँग ३–० ले पराजित भयो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटाको जितमा निशान खड्का, आयुष घलान र चन्दन कुमार दासले समान एक–एक गोल गरे।

सुरुवातबाटै दबाब बनाएको संकटाले खेलको १६ औँ मिनेटमा निशानको गोलमार्फत अग्रता बनाएको थियो। ३८ औँ मिनेटमा आयुषले टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफमा २ गोल गरेको संकटाले दोस्रो हाफमा अर्को एक गोल थपेको थियो।

खेलको ७८ औँ मिनेटमा चन्दनले गोल गर्दै संकटालाई ३–० को सहज जित दिलाए। संकटाको यो जारी लिगमा सातौं जित हो। जितसँगै संकटाले २४ खेलमा ३० अंक जोडेको छ। संकटा अङ्क तालिकाको ११ औं स्थानमा रहेको छ। खुमलटार २४ खेलमा २४ अंक जोडेर पुछारमा रहेको छ।

त्यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा हिमालयन शेर्पा र न्यूरोड टिम (एनआरटी)ले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडे। प्रतिस्पर्धात्मक खेलमा सुरुवातमानै हिमालयनले अग्रता बनाए पनि दोस्रो हाफमा एनआरटीले गोल फर्काएको थियो।

खेलको ५२ औँ मिनेटमा दिवस उराउले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए।तर, खेलको ५५ औँ मिनेटमा दिपेश आले मगरले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए। यस बराबरीसँगै एनआरटीले २४ खेलमा ३० अंक जोडेको छ। एनआरटीको यो दशौँ जित हो। हिमालयनले २४ खेलमा ३१ अंक जोडेको छ।

जेठ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्