गोठेलबाडामा अस्थायी प्रहरी पोष्ट स्थापना

सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका–४ को गोठेलवाडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। गाउँपालिकाको मागबमोजिम भाडाको भवनमा उक्त प्रहरी पोष्ट स्थापना गरिएको हो।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले ताँजाकोट गाउँपालिका– ४ र ५ नम्बर वडाको शान्ति–सुरक्षाका लागि गोठेलवाडामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको बताए।

गत चैतमा उक्त पोष्टका लागि प्रहरीबाट स्वीकृत भए पनि भवन व्यवस्थापनमा ढिलाइका कारण तीन महिनापछि स्थापना गरिएको हो।

प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नौ जना प्रहरी पोष्टमा खटिएका छन्। गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाले आइतबार एक कार्यक्रमबीच औपचारिक रूपमा पोष्टको उद्घाटन गरेका छन्।

उनले गाउँपालिकाको माग ढिलै भए पनि पूरा भएको र अब समाजमा शान्ति–सुरक्षा तथा अमन चयन कायम गर्न सहज भएको बताए।

जनताकै शान्ति–सुरक्षाका लागि प्रहरी गाउँ–गाउँमा खटिएकाले पोष्टमा रहने प्रहरीलाई स्थानीयले सहयोग गर्नुपर्ने उनले बताए।

कार्यक्रममा अन्य जनप्रतिनिधिसमेत सहभागी थिए। सो स्थानमा ४ नम्बर वडा कार्यालय पनि छ। यसअघि गाउँपालिका केन्द्र छप्रेलाबाट कुनै घटना भए प्रहरी पैदल आउनुुपर्ने अवस्था थियो। अब भने ४ र ५ नम्बर वडाको बीचमा प्रहरी पोष्ट भएकाले कुनै पनि घटना भए स्थानीयलाई सहज हुनेछ।

पोष्टका लागि गाउँपालिकाले भाडाको भवनको व्यवस्था गरेको हो। ताँजाकोटमा यसअघि छप्रेलामा अस्थायी प्रहरी चौकी स्थापना भएको गरिएको थियो। अब योसहित दुुई वटा प्रहरी चौकी र पोष्ट खडा भएका छन् भने ताँजाकोटकै कवाडीमा सीमा प्रहरी चौकी रहँदै आएको थियो।

जेठ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्