कोशी प्रदेशः सर्तसहित खेलकुद बोर्डको खाता फुकुवा

मोरङ – समाजिक विकास मन्त्रालय, कोशी प्रदेशले प्रदेश खेलकुद विकास बोर्डको रोक्का गरेको खाता पुनः सञ्चालनमा ल्याउन पत्राचार गरेको छ।

सामाजिक विकास मन्त्रालयले खाता रहेको बैंकमा पत्राचार गर्दै खाता पुनः गर्न सञ्चालन गर्नका लागि आग्रह गरेको हो। मन्त्रालयले खाता सञ्चालनका लागि प्रदेश खेलकुद बोर्डलाई विभिन्न ६ वटा बुदाँगत निर्देशनसहित खाता सञ्चालन गराएको छ।

यसक्रममा मन्त्रालयले बोर्डमार्फत सञ्चालन हुने खेलकुद प्रतियोगिता, गतिविधिमा बोर्ड अध्यक्ष तथा सामाजिक विकासमन्त्रीसँग सरसल्लाह, समन्वय र छलफल गरिनुपर्ने जनाएको छ।

खेलकुद गतिविधिको लागि स्थान र मिति तय गर्दा समेत मन्त्रालयसँग समन्वय गर्न पत्रमा उल्लेख गरिएको छ। त्यसैगरि, बोर्डले आयोजना गर्ने प्रतियोगिताका लागि निर्णय भएका रकम भुक्तानी गर्दा बोर्ड अध्यक्ष (सामाजिक विकास मन्त्री) र उपाध्यक्षसँग आवश्यक समन्वय गर्नुपर्ने जनाएको छ। मन्त्री बुद्धिकुमार राजभण्डारीद्वारा हस्ताक्षरित पत्रमा मन्त्रालयसँगको समन्वयमा कार्यक्रम कार्यान्वयनको प्रबन्ध गर्न निर्देशन दिइएको छ।

पत्रबारे जानकारी भएको जनाउँदै सदस्यसचिव वाग्लेले भने, ‘पत्र आएको बुझेको छु। पत्रमा केही बुदाँ उल्लेख गरिएका छन्। सोहीअनुसार अबका सबै कार्यक्रमका लागि आवश्यक बजेट र तालिकाको लागि अध्यक्षको तोक लगाउनुपर्ने अवस्था हुन्छ। उहाँहरुको तोकपछि मात्र कार्यक्रम अघि बढ्ने छ। उहाँहरुको तोक विना बोर्डले काम गर्दैन।’

सदस्यसचिव वाग्लेले भने, ‘मन्त्रालयले किन खाता रोकेको र के कारण खाता पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएको थाहा पाइनँ। मलाई पठाइएको पत्रमा समेत खाता किन खोलिएको र रोक्का किन गरिएको प्रष्ट हुन सकेको छुइन।’

खाता फुकुवा भए पनि बोर्डका लेखा कार्मचारी विदामा हुँदा आइतबार बैंकिङ काम हुन नसकेको उनले जानकारी दिए।

मन्त्री राजभण्डारी र बोर्ड सदस्य सचिव हंशराज वाग्लेबीचको आपसी मनमुटावसँगै मन्त्रालयले गत वैशाख १९ गते बोर्डको बैंक खाता रोक्का गरेको थियो।

खाता रोक्का भएसँगै बोर्डको पूर्वतालिकाका खेलकुद कार्यक्रम प्रभावित भएका थिए। खेलकुद प्रतियोगिता प्रभावित भएपछि प्रदेशका खेलकुदकर्मीहरुले पटक–पटक मन्त्रालयमा खाता फुकुवा गर्न डेलिगेसनसहित पुगेका थिए।

जेठ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्