नयाँ ऐनका आधारमा नागरिकता पाउने झापाका ३३ ‘भाग्यमानी’

जिल्ला प्रशासन कार्यालय, झापा। फाइल तस्बिर।

झापा – राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकका आधारमा वंशजका आधारमा आइतबार नागरिकता लिएका झापाका ३३ जना ‘भाग्यमानी’ साबित भएका छन्।

दुई दिनअघि गृह मन्त्रालयबाट सूचना जारी भइ आइतबारदेखि वितरण शुरु गरिएको भए पनि सर्वोच्च अदालतले उक्त विधेयक यथास्थितिमा राख्न अल्पकालिन अन्तरिक आदेश जारी गरेपछि नयाँ ऐनका आधारमा वितरण गरिने नागरिकता उपलब्ध गराउने काम स्थगन गरिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए।

अंगीकृत वा जन्म आधारका नागरिकता भएका बाबु-आमाका छोराछोरीलाई आइतबारदेखि जिल्ला प्रशासन कार्यालय झापाले वंशजको नागरिकता उपलब्ध गराउन शुरु गरेको थियो।

पालिकाहरूका वडा कार्यालयबाट सिफारिस लिएर आएका त्यस्ता प्रकारका ३३ जनालाई आइतबार जिल्ला प्रशासन कार्यालय झापाले नागरिकता उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए।

नागरिकता पाएकाहरू निकै खुशी हुँदै जिल्ला प्रशासन कार्यालयबाट बाहिरिएका थिए।

जेठ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्