बालबालिकाको ज्ञान बढाउन नाटक ‘ढुङ्गाको खिचडी’ मञ्चन

काठमाडौँ – विद्यालयले रंगमञ्च कक्षाको अवधारणा ल्याएयता विभिन्न उमेर समूहका बालबालिका, किशोरकिशोरीको ज्ञान र सीप अभिवृद्धिको विकासका लागि नाटकमा पनि अभिरुची बढाउने काम भइरहेको छ।

पछिल्ला समय त हरेक विद्यालयले बालबालिकालाई जिज्ञासु बनाउनुका साथै सोच्न सक्ने क्षमताको अभिवृद्धि बढाउन नाटकको साहरा लिने गरिएको छ।

यसैक्रममा ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयले नेपाली लोककथा ‘ढुङ्गाको खिचडी’लाई नाट्य रूपान्तरण गरेर मञ्चन गरिरहेको छ।

बालबालिकाको प्रतिभा प्रष्फुटनका साथै किशोरकिशोरीको ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यअनुरुप विद्यालयले लोककथालाई नाटकमा रूपान्तरण गरेर मञ्चन गरिरहेको हो। रातोपुलस्थित शैली थिएटरमा शुक्रबारदेखि जारी नाटकलाई पुष्पराज अवस्थीले निर्देशन गरेका हुन्।

नाट्य रूपान्तरण प्रकेश सिन्धूलीयले गरेको नाटकमा ब्राइट फ्युचर माविमा कक्षा पाँचदेखि दशसम्म अध्ययनरत विद्यार्थीले अभिनय गरेका छन्। बिहान ११ बजे र दिउँसो साढे एक बजे गरी दैनिक दुई सो मञ्चन भइरहेको नाटक सोमबारसम्म हेर्न सकिने छ।

नाटकमा प्रशान्त हुमागाईं, दिव्यङ्का ओझा, दीक्षा परियार, सुशान्त कोइराला, नवल नेपालीलगायतका विद्यार्थीको अभियन छ।

जेठ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्