अष्ट्रेलियाको चमकदमक छाडेर नेपालमै व्यवसाय गर्न फर्किएका यी युवा

नेपालमा होटल र उत्पादनको क्षेत्रमा योगदान गर्ने उद्देश्यले अष्ट्रेलियामा बसोबास गरिरहेका तीन युवाले नेपालमै व्यवसाय सुरु गरेका छन्।

रविभवनस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा स्नातक तहसम्मको अध्ययन पूरा गरेर सोही विषयमा अष्ट्रेलियाबाट स्नातकोत्तर तह अध्ययन पूरा गरेपछि स्वदेशमै उत्पादन र व्यवसाय गर्ने उद्देश्यले उनीहरू फर्किएका हुन्।

प्रकाश जोशी स्नातकपछि नेपालमै होटल तथा पर्यटन क्षेत्रमा काम गर्दै आए भने उनीसँगैका साथीहरु अनिश आचार्य, सल्मा बज्राचार्य र आशिष घिमिरे अष्ट्रेलिया गएका हुन्।

स्नात्तकाेत्तर पूरा गरेपछि अनिश र सल्मा नेपाल फर्किएर व्यवसाय सुरु गरेका हुन् भने आशिष छिट्टै फर्किने तयारीमा छन्। चार युवाले होटल र उत्पादन क्षेत्रमा आशालाग्दो प्रयास गरेका छन्।आशीष घिमिरे, अनिश आचार्य र सल्मा बज्राचार्य होटल व्यवस्थापनमा अष्ट्रेलियाबाट मास्टर्स गरेका हुन् भने प्रकाश जोशीले नेपालमै होटल तथा पर्यटन व्यवशायमा सक्रिय रहँदै आएका थिए।

चार वर्षअघि कोरोना भाइरसको संक्रमण सुरु हुँदाताका अनिश र उनका साथीलाई अष्ट्रेलिया सरकारले दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरेपछि ‘जे गर्छौं नेपालमै गर्छौँ’ भन्ने उक्त टोलीले अठोट लिएको हो।

त्यसो त पहिलेदेखि नै देशमै केही गर्नुपर्छ भन्ने हुटहुटी भएका अनिश अष्ट्रेलिया जाने बेला नै खुसी थिएनन्।

प्रतिष्ठानमा अध्ययन गर्दै गर्दा नेपालमै उद्यम गर्ने भन्ने सोच भए पनि आर्थिक अवस्था कमजोर भएको तथा लगानी गर्ने वातावरण पनि नपाएको अनिशको भनाइ छ।

उनी भन्छन्, ‘विद्यार्थी मात्रै भएको कारण त्यो अवसर मिलेको थिएन, नेपालमै व्यवसाय गर्ने रोजगारी सिर्जना गर्ने भन्ने योजना थियो। बाहिर नजाने भनेर स्यान्ड लिएर बसेको थिएँ, साथीहरुको आग्रहमा अष्ट्रेलिया गएँ। अष्ट्रेलिया गएपछि सम्पूर्ण योजना नै भताभुंग भयो। आफू अर्कै ट्रयाकमा गएजस्तो नमिठो अनुभव हुन थाल्यो। कोरोना भाइरसको संक्रमण सुरु भएपछि त्यहाँको सरकारले राम्रो सुरक्षा दिएन। आप्रवासी भनेर दोस्रो दर्जाको नागरिकको जस्तो व्यवहार गर्‍याे। त्यहाँको सरकारको त्यस्तो व्यवहारले मानसिक आघात पर्‍याे। होटल व्यवस्थापनसम्बन्धी ज्ञान भएको कारण यसै विषयमा नेपालमा व्यवसाय गर्ने योजना बन्यो।’

उनीहरुले होटल सञ्चालन गर्ने उद्देश्यले कोरोना भाइरस संक्रमण सुरुताका प्रविधिको माध्यमबाट ‘दैलो सफ्टवेयर’ सुरुवात गरे। प्रकाश जोशीले नेपालबाट कानुनी प्रक्रिया पूरा गर्नुका साथै अन्य सफ्टवेयर सञ्चालनबारे बुझे।

अनिश र उनका अरु दुई जना साथीले अष्ट्रेलियामै बसेर ‘दैलो सफ्टवेयर’ ह्यान्डिल गरे। कोरोना भाइरसको समयमा ग्राहकले भौतिक रुपमा मेनु नछोइकन आफ्नै मोबाइल हेरेर अर्डर गर्न सकुन् भन्ने उद्देश्यले दैलो सफ्टवेयर सञ्चालनमा ल्याएका थिए।

अनिश सुनाउँछन्, ‘सोचअनुरुप सफ्टवेयर बन्न नसक्दा बजारीकरण हुन सकेन। उक्त सफ्टवेयर अहिले होल्डमा छ। पहिलो कम्पनी त्यसरी सुरु भएको थियो। कोरोना भाइरसको संक्रमणकै बीच पनि होटल क्षेत्रमै अघि पाइला चाल्ने हुटहुटी थियो। त्यतिबेला हामी सफल हुन सकेनौँ।’

भिडियो हेर्नुहोस्:

अनिश थप्छन्, ‘विदेशमा पनि गर्न सक्थ्यौँ तर विदेशमा किन कर बुझाउने देशमै कर बुझाऊँ भन्ने लाग्यो। देशमै दुई चार जनालाई रोजगारी दिऊँ हामीले मुलुकलाई गर्न सक्ने सहयोग गर्नुपर्छ भन्ने लाग्यो। हाम्रो अग्रसरताले हामीजस्तै सोच्ने युवालाई प्रेरणा मिलोस्। उहाँहरुसँग लगानी गर्ने वातावरण छ भने त उहाँहरुले हामीले भन्दा पनि अझै ठूलो आकारमा लगानी गर्न सक्नुहुनेछ। एक खालको सकारात्मक सन्देश त्यहीँबाट जान सक्छ। केही उद्यम गर्नुपर्ने छ तर हामीसँग धेरै लगानी छैन।’

उक्त टिमले अहिले सुगन्धित मैनबत्ती (सेन्टेड क्यान्डल) बजारमा ल्याएको छ। ‘हामीले नेपालको बजार अनुसन्धान गर्दा ‘सुगन्धित क्यान्डल’को आवश्यक देखिएको भेट्यौँ। बजारमा पुरानो शैलीको क्यान्डल (मैनबत्ती) मात्रै बिक्री भइरहेको स्थिति छ। सुगन्धित क्यान्डल बजारमा नदेखेको कारण हामीले यसको सुरुवात गरेका छौँ। विभिन्न प्रकारका सुगन्धित क्यान्डलहरुको उत्पादन र बजारीकरण गरिरहेका छौँ। यसअघि बजारमा सुगन्धित क्यान्डल नपाइने र पाइहालेको खण्डमा पनि धेरै मूल्य पर्ने र सीमित व्यक्तिले मात्रै प्रयोग गर्ने गरेको भेटियो। आम नेपालीले खरिद र प्रयोग गर्न सक्ने हैसियत राख्न नसक्ने देखेपछि हामीले केही सस्तोमा तर गुणस्तरीय सुगन्धित क्यान्डल उत्पादन गरेका छौँ। हामीले उत्पादन गरेको सुगन्धित क्यान्डल सामान्य नागरिकले पनि प्रयोग गर्न सक्छन्।’

नेपालमै उत्पादन भएका कच्चा पदार्थबाट क्यान्डल उत्पादन गर्ने लक्ष्य भए पनि अहिले उक्त टोलीले आयातीत सामग्रीको पनि प्रयोग गर्नुपरेको अवस्था छ। विस्तारै नेपालमा मात्रै उत्पादन भएका कच्चा पदार्थको प्रयोग गर्ने उद्देश्य भएको अनिश सुनाउँछन्।

उनले थपे, ‘मेकिङ इन नेपाल’ को कन्सेप्टमा अगाडि बढेको छौँ। सुरु गरेको उत्पादनको नाम ‘दैलो मेकिङ इन नेपाल’ राखेका छौँ। हाम्रो नारा नै जे गर्छौँ नेपालकै उत्पादन प्रयोग गर्छौँ भन्ने छ। आयातीत बस्तु हाम्रो तहबाट बहिस्कार गर्छौँ। नेपालकै जनशक्तिले उत्पादन गरेको, नेपालमै बनेको, नेपालकै कच्चा पदार्थ प्रयोग भएको सामान्य बनाएर बेच्ने हिसाबले सुगन्धित मैनबत्ती उत्पादन गरेका हौँ।’

अनिशले दुखेसो पोख्दै भने, ‘विडम्बना नै भन्नुपर्छ देशमा हामीले सोचेजस्तो कच्चा पदार्थ नपाउने रहेछ। जब हामी यो उत्पादनमा छिर्‍यौँ तब हामीले बुझ्यौँ। कच्चा पदार्थ त हामी छिमेकी देशमै आश्रित हुनुपर्ने रहेछ।’

सामान्यतया दैनिक प्रयोगका लागि बालिने मैनबत्ती प्याराफिन वाक्सले बनेको हुन्छ त्यसले धेरै नै कार्वनडाइअक्साइड फाल्छ। मानव स्वास्थ्यमा हानि गर्छ।

अनिश र उनको साथीहरुले उत्पादन गरेको मैनबत्तीमा स्वास्थ्यलाई मध्यनजर राखेर सोयोवाक्स प्रयोग गरेका छन्। उनीहरुले सोयोवाक्स भारतबाट ल्याइरहेका छन्। उत्पादनमा अर्को बीज वाक्स छ जुन नेपालमै उत्पादन हुन्छ। बीज वाक्स माहुरीको घारबाट बनाइएको हुन्छ।

नेपालको उत्पादन महङगो पर्न आउँछ। उनीहरुले आयातीत बस्तु विस्थापन गर्न खोजिरहेका छन्। नेपालमै उत्पादन गरेको क्यान्डलको मूल्य तीन गुणा बढ्न जाँदा निकै महङ्गो पर्न आउँछ। तर जसोतसो बजारीकरण भइरहेको छ। पसलमा सामान लिएर जाँदा पहिले त पसले र ग्राहकलाई बुझाउन निकै नै गाह्रो परेको अवस्था थियो। उनीहरुले सुगन्धित मैनबत्ती भनेको के हो र किन प्रयोग गर्ने भनेर बुझाउन नै झण्डै ६ महिना खर्चिनुपरेको थियो।

युवा जमातले पनि उक्त कुरा बुझाउन सहयोग गरे। सुगन्धित मैनबत्ती अनलाइन सपिङ एप ‘दराज’को टप सेलरमा छ। यसैको सिको गर्दै अन्य सुगन्धित क्यान्डलहरु पनि बजारमा आउन थालेका छन् जुन सकारात्मक हो।

सुगन्धित मैनबत्ती ३०० देखि ५०० रुपैयाँ मूल्यका छन्। विशेष गरी यसको प्रयोग पूजाकोठामा, घरको दैलो, तिहारलगायत अन्य चाडपर्वमा, पढ्ने कोठा, बेडरुम, पुस्तकायलय, बैठक कोठादेखि बाथरुमसम्म गर्न सकिन्छ। एउटा मैनबत्ती ४५ घन्टासम्म बल्न सक्छ।

सुगन्धित मैनबत्तीको उत्पादन सुरुवात गरिसेकेपछि अनिश र उनको समूहले होटल व्यवस्थापनको दक्षतालाई पनि प्रयोग गर्ने उद्देश्यले रेस्टुरेन्ट सुरुवात गरेका छन्। काठमाडौँ नयाँ बानेश्वरमा उनीहरुको समूहले रेस्टुरेन्ट व्यवसायमा हात हालेका हुन्। केही समयदेखि ग्राहकलाई सेवा दिन थालिसेको उक्त रेस्टुरेन्टको औपचारिक उद्घाटन आगामी बिहीबार हुँदै छ।

कोरोना भाइरसको संक्रमणपछि विश्वसँगै नेपालको आर्थिक स्थिति पनि खस्किएको छ। अस्थीर राजनीतिको कारण पनि युवाहरु स्वदेशमै टिक्ने वातावरण छैन।

अनिश भन्छन्, ‘देशको असामान्य स्थिति सधैँ भइरहदैन होला। कर्म गर्दै गरुँ एकदिन अर्थतन्त्रले लय लिनेछ भन्ने उनीहरुको विश्वास छ। राजनीतिक अस्थिरताले पनि युवालाई मुलुकमै बस्न र करिअर अघि बढाउन वितृष्णा भइरहेको सन्दर्भमा मुलुक आफूअनुकूल बन्ने विश्वास छ। उत्पादन र होटल क्षेत्रबाट योगदान गर्न सकुँ।’

रेस्टुरेन्टका बिषेशताबारे अनिश भन्छन्, ‘खाना त सबैले दिइरहेका हुन्छन्, मिठो दिनुपर्छ, वातावरण पनि राम्रो हुनुपर्छ।’

उनी थप्छन्- ‘अनुभव र कौशललाई जोड्न प्रयास गरेका छौँ। ग्राहकलाई के अतिरिक्त दिन सक्छौँ भनेर अनुसन्धान गरिरहेका छौँ। गुणस्तरीय, मिठो, एकपटक आइसकेको ग्राहक फेरि फर्केर जाने वातावरण बनाउने, आफ्नै घरमा खाना खाएको जसरी खान पाउनुहुन्छ, त्यसमा कसरी विशिष्टीकृत गर्न सकिन्छ भनेर अझै लागिपरिरहेका छौँ।’

ग्राहकलाई आकर्षण बढाउन खानाको प्रकारलाई पनि मेनुमा रमाइलो तरिकाले राखिएको छ। नेपाली खानाका परिकारसँगै भारतीय र अन्य मुलुकका खानाको स्वाद चाख्न पाइन्छ।

उनीहरुले खानाका स्वादहरुलाई पनि फ्युजन गरेका छन्। अनिशले मेनुबारे प्रष्ट्याउँदै भने, ‘नान र पिज्जालाई फ्यूजन गरेर बनाइएको नान्जा, पनिर र अन्डाको अमलेट अर्थात प्यानलेट छ। मासुको आइटमलाई सिकारी प्लेट नाम दिइएको छ। खानाको नामलाई ‘अनेकथरी’ नाम दिइएको छ। मुँगको टुसा पनि यहाँको विशेष खानामा पर्न आउँछ।’

नन अल्कोहलिक ड्रिङक्स आइटममा गुलियोमा भुलियो, कालाखट्टा, चकलेटीलगायत स्वाद चाख्न सकिनेछ। नेपालको मौलिक फल लप्सीको पनि मिठो परिकार पाइन्छ यहाँ।

जेठ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्