ज्लाटन इब्राहिमोभिकले ४१ वर्षमा लिए सन्‍न्यास

एसी मिलान स्टार ज्लाटन इब्राहिमोभिकले फुटबल खेलाडीको रूपमा व्यावसायिक करिअरको औपचारिक अन्त गरेका छन्।

४१ वर्षीय इब्राहिमोभिकले जारी सिजनमा आइतबार अन्तिम खेल खेल्दै घरेलु समर्थकमाझ बिदाइको हात हल्लाएका थिए। उनले समर्थकलाई भने, ‘फुटबललाई गुडबाइ भन्न चाहन्छु तर तपाईंहरूलाई हैन।’

स्विडेनका स्टार इब्राहिमोभिकले यसअघि नै क्लब छोड्ने घोषणा गरेका थिए। उनले फुटबलको व्यावसायिक करिअरमा ५११ गोल गरेका छन्।

इब्राहिमोभिकले पिएसजी, म्यानचेस्टर युनाइटेड, एसी र इन्टर मिलानबाट फुटबल खेले। उनले ४ देशका प्रतिष्ठित लिगको उपाधि जितेका छन्। उनी २०२० को सुरुवातबाट दोस्रो पटक एसी मिलानमा आवद्ध भएका थिए।

इब्राहिमोभिकले आफ्नो करियरमा १४ लिग उपाधिसहित कुल ३४ ट्रफी जितेका छन्। उनी ११ पटक बालोन डी ओरका लागि मनोनित भएका थिए। इब्राहिमोविच स्विडेनका लागि सर्वाधिक गोलकर्ता हुन्। उनले स्विडेनका लागि १२२ खेलमा ६२ गोल गरेका छन्।

पछिल्लो समय भने लगातार इन्जुरीका कारण उनले थौरै मात्र खेल खेल्ने अवसर पाएका थिए। उनले जारी सिजन ४ खेल खेल्दै १ गोल गरे। उनको यसै महिनाको अन्तमा मिलानसँगको सम्झौता सकिँदै छ।

घरेलु समर्थकमाझ बिदाइ हुँदैगर्दा आँखाभरि आँशु बनाएका इब्राहिमोभिचले भने, ‘यो क्लबसँग धेरै भावनात्मक क्षणहरू रहेका छन्। ‘फोर्जा मिलान र गुडबाइ।’ पहिलो पटक म यहाँ आउँदा तपाईंहरूले खुसी दिनु भयो। दोस्रो पटक यहाँ रहँदा धेरै माया पाएको छु।’

जेठ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्