फिल्म ‘कडी’को पोखरामा शुभमुहूर्त

पोखरा – नेत्र गुरुङद्वारा निर्देशित फिल्म ‘कडी’को शुभमुहूर्त गरिएको छ। सोमबार पोखराको विन्ध्यावासिनी मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो।

नेत्र इन्टरटेन्मेन्टको ब्यानरमा सुस्मिता फिल्मस्‌को सहकार्यमा बन्न लागेको ‘कडी’को संस्कृतिकर्मी तीर्थ श्रेष्ठले शुभमुहूर्त गरे। श्रेष्ठले पोखरा प्राकृतिक स्टुडिया भएको बताए। सुरुआतदेखि नै पोखरामा फिल्म सुटिङ हुने गरेको उनको भनाइ छ।

१० वर्षअघि फिल्म ‘नाइके’ निर्देशन गरेका पोखरेली निर्देशक नेत्र गुरुङले ‘कडी’ आफ्नो लागि ड्रिम प्रोजेक्ट भएको बताए। ‘म्युजिक भिडियोका लागि तयार पारिएको कथा चलचित्र बन्ला भनेर कल्पना थिएन’, उनले सुनाए।

‘नाइके’ पछि गुरुङ म्युजिक भिडियो र सर्ट फिल्म बनाइरहेका छन्। पोखरा आसपासमा छायांकन हुने फिल्म सस्पेन्स थ्रिलर जनरामा बन्नेछ। शुभमुहूर्तपछि ५ दिनको वर्कसप चल्ने छ। त्यसपछि बल्ल छायांकनमा जाने निर्माण युनिटले जनाएको छ।

कडीमार्फत टिकटकबाट चर्चामा आएका बद्रीप्रसाद तिवारीले डेब्यु गर्दैछन्। पोखरेली मोडल सोफी धरेलको समेत डेब्यु हुनेछ।

फिल्ममा प्रकाश घिमिरे, कमल भण्डारी, सुगत करणजीत, विकास खनाल, संगम कायस्थ, राजेन्द्र अधिकारी, राम बास्तोला, सरिता दानकुटी, प्रमिला तुलाचन, अर्जुन खड्का लगायतको अभिनय रहनेछ। दिपेश केसीले फिल्म खिच्नेछन्।

जेठ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्