मेचीनगरमा बढ्यो बाँदर आतङ्क

फाइल तस्बिर।

झापा – जङ्गली हात्ती आतङ्कको सामना गरिरहेका मेचीनगरवासी पछिल्लो समय बाँदर आतङ्कबाट पनि हैरान भएका छन्। मेचीनगर नगरपालिका–७, ८, ११ र १२ का विभिन्न स्थानमा जङ्गलबाट हुलका हुल बाँदर खेतबारीमा पसेर बालीनाली नष्ट गर्न थालेपछि उनीहरू हैरान भएका हुन्।

रातभरि स्थानीय क्षेत्रका सामुदायिक वनमा बस्ने बाँदर उज्यालो नहुँदै किसानले लगाएको अन्नबाली र फलफूल खान निस्कछन्। यतिबेला बारीमा पाकेको मकै, आँप, आरु र घरमा राखेको अन्नबाली बाँदरबाट स्थानीयवासीलाई जोगाउन समस्या भएको छ।

“बारीका मात्र होइन घरभित्रै भण्डारण गरिएको अन्नबालीसमेत जोगाउन नसकिने अवस्था भइसकेको छ”, वडा नं ११ का वडाध्यक्ष योगेश भट्टराईले भने, “कानूनले बाँदर मार्न पाइँदैन। गाह्रो भयो।” उनले स्थानीयवासीले लगाएको अन्न बाली खाएर बाँदरले हैरान बनाएपछि सामूहिकरूपमा हेरालु राख्ने अभियान चलाउने तयारी गरिरहेको बताए।

उनले बाँदरको आतङ्कबाट जोगाउन स्थानीयवासीले वडासँगै सुरक्षा मागिरहेको बताए। डिभिजन वन कार्यालय झापाका डिभिजनल वन अधिकृत मेघराज राईले जिल्लामा बाँदर नियन्त्रणका लागि कुनै कार्यक्रम नभएको बताउनुभयो। बाँदर नियन्त्रणका लागि अहिलेसम्म अपनाएका सबै उपाय दिगो नभएकाले कार्यालयले पनि कुनै ठोस कार्यक्रम नराखेको उनको भनाइ छ।

सरकारले हात्ती, अर्ना, बाघ, भालु चितुवा, ध्वाँसे चितुवा, अजिङ्गर, हिमचितुवा, गौरीगाई, बँदेललगायत १४ वटा जनावरलाई हानिकारक जनावरको सूचीमा राखेको छ। जसका कारण बाँदरले किसानको अन्नबालीमा क्षति पु¥याए पनि राहत पाउने व्यवस्था नभएको उनले बताए। मेचीनगरमात्र होइन जिल्लाका अधिकांश पालिकामा बाँदरको समस्या छ।

जेठ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्