संघीय सरकारद्वारा कोहलपुरका दुई योजनाका लागि १ करोड २० लाख बजेट विनियोजन

नेपालगञ्ज – आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि संघीय सरकारले कोहलपुरका दुई वटा योजनामा बजेट विनियोजन गरेको छ ।

कोहलपुर नगरपालिकाले माग गरेकामध्ये समपुरक र विषेशतर्फ दुई वटा योजनामा संघीय सरकारले १ करोड २० लाख बजेट विनियोजन गरेको हो ।

कोहलपुर नगर कार्यपालिकाको मंसिर २७ गते बसेको बैठकले समपुरक र विषेश योजनाका लागि ११ वटा योजना माग गरि पठाएको थियो । त्यसमा समपुरक योजनाका लागि ५ वटा र विषेशका लागि ६ वटा योजना माग गरी पठाइएकोमा दुवैतर्फ एक-एक वटा योजना परेको हो ।

समपुरकतर्फ डुडुवा, रोहिनी खोला तटबन्धका लागि ५० लाख बजेट विनियोजन भएको छ । यो योजनामा नगरपालिकाले ५० लाख थप्नेछ । यो योजना एक करोडको हुनेछ ।

समपूरकका लागि नगर कार्यपालिकाले प्राथमिकीकरण गरि १ नम्बरमा कोहलपुर रिङरोड निर्माण तथा स्तरोन्नतिका लागि ४ करोड, २ नम्बरमा डुडुवा रोहिनि खोला तटबन्धका लागि साढे एक करोड, ३ नम्बरमा सृजना दुग्ध डेरीदेखि बागेश्वरी क्याम्पससम्म ३३० मिटर पिच बाटोका लागि ५० लाख, ४ नम्बरमा गोहवा गाउँदेखि चौधरीया जोड्ने सडकका लागि १ करोड र ५ नम्बरमा वडा नम्बर ११ र ६ को सिमानादेखि बालबिधासम्म पक्की नालाका लागि साढे एक करोड बजेट योजना माग गरि पठाएको थियो । त्यसमा संघीय सरकारले डुडुवा, रोहिनी खोला तटबन्धका लागि ५० लाख बजेट बिनियोजन गरेको हो ।

डुडुवा खोलामा तटबन्ध नहुँदा कोहलपुर नगरपालिका वडा नम्बर १२ र १३ का आधा दर्जन बस्ती डुवान र कटानको उच्च जोखिममा छन् । वडा नम्बर १२ को प्रगति नगर, जानकी टोल, ज्ञानज्योति स्कुल टोल, भाग्रा र वडा नम्बर १३ को सिम्री डुडुवा खोलाको उच्च जोखिममा छन् । तटबन्ध निर्माणपछि यी बस्तीमा डुवान र कटान समस्या केहि हदसम्म हल हुने स्थानीयको विश्वास छ ।

यस्तै, संघीय सरकारसंग विशेष योजनातर्फ माग गरिएका ६ वटा योजनामध्ये सिकलसेल एनिमिया ल्याव संचालन तथा व्यबस्थापनका लागि ७० लाख बजेट विनियोजन भएको छ । कार्यपालिका बैठकले छैठौँ प्राथमिकतामा राखेर सिकलसेल ल्याव संचालन तथा व्यवस्थापनका लागि साढे एक करोड बजेट माग गरी पठाएको थियो । त्यसमा संघीय सरकारले ७० लाख बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले विशेष योजनातर्फ वडा नम्बर ४ स्थित हिमालय मदरसा गरिव नवाज प्राथमिक विद्या‍लयको पर्खाल निर्माणका लागि ४ करोड, वडा नम्बर १४ स्थित राम मावीको भवन निर्माणका लागि साढे एक करोड, वडा नम्बर ३ स्थित आधारभूत स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि ५० लाख, वडा नम्बर २ स्थित दलित सांस्कृतिक संग्रहालय निर्माणका लागि ५० लाख र निकुञ्ज क्षेत्रमा मेसजाली तारबारका लागि ५० लाख बजेट योजना माग गरी पठाएको थियो ।

जेठ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्