युरोपमा दुई महिने सांगीतिक भ्रमण सकेर फर्किए रुपक डोटेल

काठमाडौँ–चर्चित गायक रुपक डोटेल दुई महिना लामो युरोप सांगीतिक भ्रमण सकेर स्वदेश फर्किएका छन्।
स्टेज कार्यक्रममा व्यस्त रहने डोटेल यतिबेला स्पेन, पोर्चुगल, जर्मनी, फ्रान्स, बेल्जियमका अलवा युरोपका विभिन्न देश र शहरमा भव्य सांगीतिक प्रस्तुति दिएर फर्किएका हुन्।
नेपाली नयाँ बर्षको छेको पारेर २०७९ चैत अन्तिम साता सांगीतिक यात्रामा निस्कीएका उनी केही दिन अघि मात्रै आएका छन्।
उनले आफ्नो लोकप्रिय गीत बनकी चरी, सानुमाया, लभ गुरु, मेरो बोली सुन्दा, चोखो माया लाकै हो, लगायत दर्जन भन्दा बढी हिट गीत गाएर दर्शक,स्रोतालाई नचाएका छन्।
स्पेनको बेनीड्रोममा नेपाली नयाँ बर्ष स्वागतमा भव्य कार्यक्रम भएको थियो। नेपाली भाषीहरु सहभागी कार्यक्रममा डोटेलले धमाकेदार प्रस्तुति दिएका थिए।
जर्मनीमा पुगेर उनी एक गायन प्रतियोगिताको निर्णायक पनि बस्न भ्याए।
जर्मनीमा नेपाली भाषीहरुको उक्त गायन प्रतियोगिताको निर्णायक मण्डलमा गायक डोटेलसँगै चर्चित गायिकाहरु नलिना चित्रकार, शर्मिला बर्देवा लगायत थिए।
इनासले आयोजना गरेको युरोप स्तरीय नेपाली गायन प्रतियोगितामा उनी सहभागी भएका हुन्।
गायक डोटेल स्पेनको कार्यक्रम ऐतिहासिक भएको उनी बताउँछन्।
नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्धको ५५ वार्षिकोत्सवको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।
नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा डोटेलमा आफ्ना चर्चित गीतहरु गायका थिए।
कार्यक्रममा पर्यटन प्रबर्धन,नेपाल र स्पेनको संस्कृति,रहनसहन, खाना,भेषभूसाको समिश्रणलाई पनि प्रस्तुत गरिएको थियो।
म्याड्रिड राजदूतावासले आयोजना गरेको कार्यक्रम सम्पन्न गर्न परराष्ट्र मन्त्रालय, नेपाल पर्यटन बोर्डलगायत स्पेनस्थित नेपाली संघ सस्थाहरुले सहयोग गरेका थिए।
नेपाल र स्पेनबीच मे १३,१९६८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। स्व. राजा वीरेन्द्र र स्वर्गीय रानी ऐश्वर्याले सन् १९८३ मा स्पेनको राजकीय भ्रमण गरेका थिए।
स्पेन भ्रमणको क्रममा दुई देशबीच सांस्कृतिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।
पोर्चुगलमा स्याङ्जा सहयोग समाजले आयोजना गरेको कार्यक्रममा उनको प्रस्तुति दमदार रहेको थियो।
डोटेलको गृहजिल्ला समेत रहेको स्याङ्जा समाजले उनलाई पोर्चुगलमा भव्य स्वागत गरेको थियो।
यता फ्रान्समा विभिन्न संस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न सांगीतिक कार्यक्रम पनि स्मरणीय रहेको डोटेल सुनाउँछन्।
जर्मनीको बोन र बेल्जियमको ब्रसेल्सका कार्यक्रमहरु स्मरणयोग्य रहेको रुपक बताउँछन्।
उनी स्पेनको बार्सिलोनामा प्रवासी नेपालीले आयोजना गरेको एक कार्यक्रममा पनि सहभागी भएका थिए।
स्वदेश फर्किएपछि उनले सबै सहयोगी र युरोपबासी सहयोगी मनलाई धन्यवाद दिएका छन्। २०६१ सालमा नेपाल टेलिभिजनले ल्याएको नेपाली तारा प्रतियोगितामा भाग लिएर तेस्रो बन्न सफल भएपछि गीत संगीतमा उनी यसरी चम्किन पुगे कि उनले कहिले पनि पछाडि फर्किएर हेर्नु परेको छैन।
लाइभ गायन प्रतियोगिताबाट करिअरको सुरुमै सफल बनेका डोटेल निरन्तर संगीत कर्ममै व्यस्त छन्। गीत रेकर्ड गर्नुका साथै स्वदेश तथा विदेशमा विभिन्न सांगीतिक कार्यक्रममा व्यस्त छन्। गायक डोटेल राम्रा गीतले सधैं स्थान पाउने र भाइरल समयसँगै हराएर जाने मान्यता राख्छन्। पछिल्लो समय विदेश भ्रमण र संगीत कर्ममा थप व्यस्त रहेका डोटेलको छिट्टै नयाँ गीत सार्वजनिक हुँदैछ।
जेठ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्