हुम्लावासीलाई तुइनबाट नदी तर्नुपर्ने बाध्यता कहिलेसम्म?

तुइनबाट नदी तर्दै यात्रु। तस्बिरः राजन राउत/देश सञ्चार।

सिमकोट – तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा देशलाई तुइनमुक्त बनाउने घोषणा गरेको पाँच वर्ष बित्दा पनि हुम्लावासीले तुइनबाट नदी तर्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन। तुइन निर्माण गरिएका स्थानमा झोलुङ्गे पुल निर्माण नभएका कारण हुम्लावासीलाई कर्णाली नदी तर्न तुइनको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।

राष्ट्रिय सडक सञ्जाल नजोडिएको माथिल्लो हुम्ला आउजाउ गर्न सर्वसाधारणलाई अहिले पनि तुइनकै भरमा कर्णाली नदी वारपार गर्नुपर्ने बाध्यता रहँदै आएको छ।

सर्केगार्ड गाउँपालिका–२ को ल्याप्चेमा कर्णाली नदी पार गर्न तुइन तर्दै गरेका सुजन बुढाले यसरी नदी पार गर्नु रहर नभएर बाध्यता भएको बताए। सर्केगार्डबाट सिमकोटतर्फ आउँदै गरेका उनले स्याल्तडीको झोलुङ्गे पुल तर्दा डेढ घण्टाको बाटो लामो हिँड्नुपर्ने भएपछि ल्याप्चेमा तुइन तर्नु परेको बताए।

उनले जोखिम भए पनि तुइनबाटै नदी पार गर्ने गरेको बताए। तुइन चढेर नदी तर्ने क्रममा हावाले आफ्नो टोपीसमेत नदीमा खसेको उनले उल्लेख गरे।

कर्णाली करिडोरको सडक निर्माण गरिरहेको नेपाली सेनाले ल्याप्चेमा तुइन निर्माण गरेको छ। यसअघि सो स्थानमा स्थानीयले निर्माण गरेको तुइन थियो। अहिले सेनाले आफू पनि नदी वारपार गर्नका लागि निर्माण गरेको तुइन छ।

रिपगार्ड, लिप्ने, राता पानी, जिउसा हुँदै स्याल्तडी निस्केर झोलुङ्गे पुल तर्नु पर्दा साढे दुई घण्टा हिँड्नुपर्ने भएकोले स्थानीयले यही तुइन प्रयोग गर्छन्। स्याल्तडीबाट सेनाले निर्माण गरेको सडकबाट पैदल हिँडे एक घण्टामा तुइन निर्माण भएको स्थानमा पुग्न सकिन्छ।

ल्याप्चेको तुइनबाट दैनिक एक सय जनासम्मले नदी पार गर्ने गरेका छन्। तुइन प्रयोग गर्न नजान्नेहरु भने अरु मानिस आउन्जेल तुइन पार गर्ने स्थानमा कुरेर बस्नुपर्ने हुन्छ।

खार्पुनाथ गाउँपालिकाको लालीबगर, सर्केगार्ड गाउँपालिकाको दुल्लीकुना, अदानचुली गाउँपालिकाको गल्फागार्डमा पनि तुइनबाटै नदी पार गर्नुपर्ने अवस्था छ।

जेठ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्