चर्चामा आउन सडक अनुगमन गरेका होइनौँः मन्त्री ज्वाला

फाइल फोटो।

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चर्चामा आउनका लागि नभइ दिगो र कार्यान्वयन गर्नेगरी सडक अनुगमन गरिरहेको बताएका छन्।

मंगलबार भौतिक तथा पूर्वाधारमन्त्री ज्वालाले चक्रपथको दोस्रो खण्डका रूपमा कलंकीदेखि बसुन्धरासम्मको सडकको स्थलगत निरीक्षण गर्ने क्रममा यस्तो बताएका हुन्।

उनले कंलकीदेखि बसुन्धरासम्मको सडक निर्माणमा देखिएका समस्या स्थलगत निरीक्षणबाट समाधान खोज्नको लागि चिनियाँ राजदूत,आयोजना प्रमुखसहित अनुगमन गरिएको बताए।

उनले कलंकीदेखि महाराजगञ्जसम्मको ८.२ किमि सडक खण्ड विस्तार गर्न कुनै पनि समस्या नदेखिएको बताए। उनले सडक निर्माण गर्न सडकको दुवैतर्फ कुनै पनि समस्या नदेखिएकाले चाँडै डीपीआर तयार गरेर ठेक्का प्रक्रियामा जाने बताए।

उनले कंलकीदेखि बसुन्धारासम्मको रिङ रोड सडकखण्डको दोस्रो चरणको निर्माण चीन सरकारको अनुदानमा बन्न लागेको बताए। उनले उक्त खण्डमा ढुङ्गेधारा, गोंगबु र बसुन्धारामा अण्डरग्राउण्ड पास आवश्यकता देखिएकाले चीन सरकारसँग सहमति गरेर तीन ठाउँमा अण्डरपास बनाउने सहमतिसमेत भएको बताए।

मन्त्री ज्वालाले कंलकीदेखि बसुन्धरासम्म ८ लेनको फराकिलो सडक निर्माण अब तत्काल अगाडि बढ्ने आशा जगाएको बताए।

उनले मन्त्री भएर आएपछि अनुगमन गरिसका सडक निमाण प्रक्रिया ढिला भएका आयोजनाहरुको कामको प्रगति तीव्र रुपमा बढेको दाबी गरे। उनले राजधानी जोड्ने सडकहरु वर्षायाममा बन्द नहुने गरी सरकारले पूर्वतयारी गरिरहेको बताए।

जेठ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्