वेलकम टु हेम्जाकोट: बेरोजगारीले निम्त्याउने समस्या र अन्तरजातीय प्रेमको कथा

काठमाडौँ – नेपाली चलचित्र वेलकम टु हेम्जाकोटको प्रिमियर शो भएको छ। मंगलबार काठमाडौँमा चलचित्रको प्रिमियर शो गरिएको हो।

जेठ २६ देखि प्रदर्शनको तयारीमा रहेको सोसल-कमेडी फिल्म ‘वेलकम टु हेम्जाकोट’मा बुद्धि तामाङ र विनोद न्यौपानेको शीर्ष भुमिका रहेको छ भने फिल्मले बेरोजगारीले निम्त्याउने समस्या र अन्तरजातीय प्रेमको कथावस्तु पेस गर्छ।

सरोज पौडेल निर्देशित फिल्मले युवालाई आदर्शवान बन्न सिकाएको छ। फिल्ममा लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदेव राई, प्रेविल कँडेल, स्व.जयनन्द लामाको समेत अभिनय छ।

प्रिमियर शोपछि बोल्दै अमिनेता शोभित बस्नेतले चलचित्र हास्य विधाको चलचित्र भएकाले राम्रो लागेको र हास्न धेरै पाइने खालको फिल्म बनेको बताए। उनले फिल्म हेरुन्जेलसम्म फिल्मको मज्ज लिएर चलचित्र हेर्न सकिने बताए।

त्यस्तै चलचित्र वेलकम टु हेम्जाकोटका अभिनेता विनोद न्यौपानेले नयाँ टिमले गरेको प्रयासबाट कलाकारहरू खुसी भएको र आगामी शुक्रबारबाट दर्शकले प्रतिक्रिया दिएपछि फिल्म राम्रो र नराम्रो भन्नेबारेमा विश्वस्त हुने बताए। उनले फिल्म हेरुन्जेल हासो नरोकिने बताए।

क्लोजअप सिने प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो फिल्म तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्काले निर्माण गरेका हुन्। मिलन श्रेष्ठको एक्शन, मित्र डी गुरुङको सम्पादन रहेको फिल्मलाई दीर्घ गुरुङले खिचेका हुन्।

कविराज गहतराज र गम्भीर विष्टको संयुक्त नृत्य निर्देशन, शाश्वत श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मको गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठले स्वर दिएका छन्। राज सागरले संगीत भरेका छन्।

जेठ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्