कोसी प्रदेश नामांकनविरुद्ध आन्दोलनरत पक्षसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन

मोरङ – अल्पमतमा रहेको कोसी प्रदेश सरकारले नामांकनविरुद्ध आन्दोलन गर्दै आएका पहिचानवादी पक्षसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली तयार गरेको छ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकले खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा जारी आन्दोलनको हलका लागि वार्ता टोली गठन गरेको हो।

यस क्रममा संयोजक मेन्याङबो वार्ता टोलीमा सरकारका प्रवक्ता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी छन्।

अर्कोतर्फ वार्ता समिति गठन गरिएको र वार्ताका लागि जानकारी नभएको किरात थाक्थुम चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले बताए।

वार्ताबाट समस्या समाधान हुनु राम्रो कुरा भएको बताएका अध्यक्ष येक्तेनले पहिचानको पक्षमा हुँदै आएका गतिविधि र सरकारसँग हुने कुराकानीका विषयमा पहिचान पक्षधर सबैसँग छलफल गरेर अघि बढ्नेमा जोड दिए।

प्रदेशको नामकरण फागुन १७ गते कोसी प्रदेश राखिएसँगै पहिचानवादी पक्षधरले खारेजीको माग गर्दै आएका छन्। पहिचानवादी पक्षले कोसी नाम खारेजीको माग गर्दै पहिचानवादी नाम राखिनुपर्ने जोड दिँदै आएका छन्।

उनीहरूले प्रदेश सरकारविरुद्ध पटक–पटक प्रदेश राजधानी विराटनगरमा केन्द्रित भएर आन्दोलनसमेत गर्दै आएका छन्।

आन्दोलनका क्रममा मोरङका पदम लिम्बू लाजेहाङको मृत्यु भएको छ। उनलाई सरकारले सहिद घोषणा गरिसकेको छ।

जेठ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्