‘अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको कोसी सरकार गैरजिम्मेवार’

मोरङ – बजेटको पूर्वसन्ध्यामा प्रदेश सभा अधिवेशन अनिश्चितकालका लागि स्थगन भएकोमा नेपाली कांग्रेस कोसी प्रदेश सभा संसदीय दलले आपत्ति जनाएको छ।

बुधबार विज्ञप्ति जारी गर्दै दलले बजेट अधिवेशनको समयमा प्रदेश सभाको अधिवेशन स्थगन गर्नुले वर्तमान अल्पमतको सरकार गैरजिम्मेवार हुँदै प्रदेशमा अझ समस्या थप्न उद्यत भएको उल्लेख गरेको छ।

दलका प्रमुख सचेतक भूपेन्द्र राईले नागरिकको आवाज बोल्ने संसदलाई अल्पमतको सरकारले बन्धक बनाएको आरोप लगाए। उनले प्रदेश सभा स्थगन गर्दै प्रदेशको नीति तथा कार्यक्रम र बजेट नै अध्यादेशमार्फत ल्याउनका लागि प्रदेश सरकारले गलत कदम चालेको बताए।

उनले भने, ‘सरकार अल्पमतमा छ। प्रदेशलाई निकास दिन सरकारले राजीनामा दिएर लोकतान्त्रिक मान्यताअनुरुप आगामी सरकार निर्माणमा मार्गप्रशस्त गर्नुपर्ने, त्यो भएन। सरकार अझ समस्या थप्नतर्फ केन्द्रित हुँदै गएको छ।’

नैतिक रूपमा राजीनामा नदिएर मंगलबारबाट प्रदेश सभा नै अर्को सूचना जारी नभएसम्म स्थगन गरिनुले सरकारको नियत प्रस्ट भएको प्रमुख सचेतक राईले जानकारी दिए।

आइतबारबाट प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन सुरु भएको थियो। आइतबार पहिलोदिननै पहिचानवादी पक्षधरसँग प्रदेश सभा बाहिर सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो। त्यसपछि, जसपा र माओवादीले सरकारबाट समर्थन फिर्तासँगै बुधबार सरकारले प्रदेश सभा अनिश्चितकालका लागि सदन स्थगित गरेको हो।

मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट सत्ता साझेदार दल १३ सिट रहेको नेकपा माओवादी केन्द्र र १ सिट रहेको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिइसकेका छन्। सरकार गठनका लागि ४७ सिट आवश्यक भए पनि हाल सरकारमा ४६ सिट मात्र छ। सरकारमा एमाले ४० र राप्रपाको ६ सिट छ।

यद्यपि, अर्कोतर्फ २९ सिट कांग्रेस, १३ सिट माओवादी केन्द्र, ४ सिट एकीकृत समाजवादी र १ सिट जसपाको छ।

जेठ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्