सहिद स्मारक ए डिभिजन लिगः साविक च्याम्पियन मछिन्द्र उपविजेता पक्का

काठमाडाैँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक च्याम्पियन मछिन्द्र फुटबल क्लब जारी सिजन उपविजेता बन्ने पक्का भएको छ। बुधबार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ ले पराजित गरेसँगै मछिन्द्र अन्तिम खेल बाँकी हुँदै उपविजेता बन्न सफल भयो।

दशरथ रंगशालामा आफ्नो २५ औं खेलमा मच्छिन्द्रको जितमा आफिज ओलावाले २ तथा विमल घर्तीमगरले एक गोल गरेका थिए। शेर्पाका लागि पिस्तोने मुताम्बाले अन्तिम मिनेटमा एक गोल फर्काएका थिए। जितपछि मछिन्द्रको २५ खेलबाट ४२ अंक भएको छ। तेस्रो स्थानमा रहेको पुलिसको २५ खेलमा ३८ अंक रहेको छ। पराजित शेर्पाको २५ खेलमा ३१ अंक रहेको छ।

खेलको २६ औं मिनेटमा मच्छिन्द्रले विमलको गोलमार्फत खेलमा अग्रता लिएको थियो। पहिलो हाफमा १ गोल गरेको मछिन्द्रले ६८ औं मिनेटमा अग्रता दोब्बर बनायो। युता सुजुकीको पासलाई आफिजले हेड गर्दै पोस्टको दिशा दिएका थिए। टिमलाई सहज जित दिलाउने क्रममा खेलको ७७ औं मिनेटमा आफिजले पेनाल्टीमार्फत ब्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल सम्भव बनाएका थिए।

खेलको ८२ औं मिनेटमा गोलरक्षक विशाल श्रेष्ठले पेनाल्टी क्षेत्र बाहिर वान भर्सेस वानको स्थितिमा आबायोमी फाकुन्लेलाई फल गरेपछि रेफ्रीले रातो कार्ड दिएका थिए। सुरुमा पहेंलो कार्ड दिए पनि शेर्पाका खेलाडीले विरोध गरेपछि आफ्नो निर्णय बदल्दै रातो कार्ड दिएका थिए। त्यसको विरोधमा खेलाडीबीच विवाद बढ्दा शेर्पाका निशान लिम्बुले रातो कार्ड पाए। अन्य केही खेलाडीलाई पहिन रेफ्रिले पंहेलो कार्ड देखाएका थिए।

खेलको अन्तिम समयमा पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई केन्याली फरवार्ड पिस्तोने मुताम्बाले गोल गरेपनि अङ्क दिलाउन भने पर्याप्त भएन। त्यस्तै अर्को खेलमा न्यु रोड टिम ९एनआरटी० ले मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गरेको थियो। एनआरटीको जितमा दिपेश आले मगरले १७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

जेठ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्