नारायणी सिँचाइको जग्गा सहकारीको कब्जामा, बिनाअनुमति भवन निर्माण गरिँदै

वीरगञ्ज – गण्डक नहरमा पानीको व्यवस्थापन रेखदेखलगायत कार्य गर्दै आएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जको जग्गा अतिक्रमणमा परेको छ। पर्सा बारा र रौतहट सम्म फैलिएको गण्डक नहरमा पानीको व्यवस्थापन रेखदेख मर्मतको काम गर्दै आएको सिँचाइ कार्यालयको नाउँमा रहेको बाराको प्रसौनी गाउँपालिका –१ स्थित दुई कठा जग्गा अतिक्रमणमा परेको हो।

सिँचाइको जग्गालाई कब्जा गरेर अहिले साना किसान सहकारी संस्थाले भवन समेत निर्माण गरिरहेको छ। सहकारीले सरकारी जग्गा कब्जा गरेर भवन निर्माण गरिरहँदा समबन्धित निकायले भने त्यसलाई रोक्नको लागि कुनै किसिमको पहल गरेको छैन।

गाउँपालिकामा रहेको जग्गामा सहकारीले अहिले भवन निर्माण गर्ने काम लगभग अन्तिम चरणमा पुरयाएको छ। सिँचाईको नाउँमा रहेको जग्गामा जबरजस्ती गरि भवन निर्माण गर्ने कार्य सहकारी सँस्थाले गरिरहेको स्थानीयबासीको भनाइ छ।।

सहकारीले भवन निर्माण गर्न लागेको थाहा पाएपछि त्यसलाई रोक्न समबन्धित निकायमा पटक पटक जानकारी गराए पनि कसैले कुनै पहल नगरेको नारायणी सिँचाई व्यवस्थापन कार्यालय वीरगञ्जले जनाएको छ।अरुको जग्गा जबरजस्ती कब्जामा लिएर सहकारीले भवन निर्माण गरिरहेको स्थानीय बताउँछन्।

नेपाल सरकारको नाममा भएको जग्गालाई संरक्षण गर्न सबैको सहयोग चाहिने भएकाले आफूहरुलाई सहयोगको अपेक्षा सम्बन्धित निकायबाट चाहिएको कार्यालय वीरगञ्जका ईन्जिनियर सुरेशप्रसाद साहले जानकारी दिए।

‘नेपाल सरकारको जग्गा हो त्यसमा बिनाअनुमति कसैले पनि भवन बनाउन पाउदैन,‘उनले भने,हामीले पटक पटक गाउँपालिका,सहकारीलाई पनि पत्राचार गरेर भनेपनि भवन बनाउन रोकिएको छैन।’सरकारी सँस्थाको नाउँमा भएको जग्गामा सहकारीले मनोमानी गरिरहदा प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद जैसवालले भने आफूहरु आउनुभन्दा अघिका जनप्रतिनिधिहरुले बजेट नै छुटयाएर सहकारीलाई भवन गर्न दिएको जानकारी दिए।उनले चिठी पठाएर सहकारीलाई भवन नबनाउन आग्रह गर्दा पनि सहकारीले अटेर गरि मनोमानी रुपले भवन बनाईरहेको बताए।

‘हामी आउनुभन्दा अघिकै गाउँपालिकाका जनप्रतिनिधीले भवन बनाउन दिएका रहेछन पछि सिँचाइले आफ्नो जगगा भएको पत्र पठाएपछि हामीले रोकेका थियौ सहकारीलाई,‘उनले भने,तर सहकारीले भवन बनाउन मानेको छैन यसमा सिँचाइ कार्यालयले पनि अगाडिको पहल गर्नुपर्छ नि चुप लागेर बसेर हुदैन।’दिनमा सहकारीले भवन निर्माण नगर्ने गरेको तर राति राति भने लुकिछिपी भवन निर्माण गर्ने गरेकाले हालसम्म कुनै पनि ब्यक्तिलाई पक्राउ गर्न वा कारवाही गर्न नसकिएको जैसवाल बताउँछन्।

जेठ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्