सिमकोट – हिमाली जिल्ला हुम्लामा खाद्यान्नको चरम अभाव देखिएको छ। जिल्ला खाद्य व्यवस्था समितिले दुुई पटक लिखित निर्णय गरेर थप कोटाको खाद्यान्न माग गर्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले त्यसमाथि सुुनुुवाइ नगर्दा जिल्लामा खाद्यान्न समस्या देखिएको हो।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जिल्लामा खाद्यान्न अभाव भएको बताउँदै जिल्लाबाट माग भएको थप १५ हजार क्विन्टल खाद्यान्न कोटामाथि लिमिटेड केन्द्रले हालसम्म कुुनै सुनुवाइ नगर्दा समस्याले विकराल रुप लिएको बताए।

उनले हाल शाखाको गोदाममा तीन सय क्विन्टल खाद्यान्न मात्र मौज्दात रहेकाले त्यसले सर्वसाधारणलाई बिक्री वितरण गर्न नसकिने अवस्था रहेको बताए।

जिल्लाको माग सुुनुुवाइ नगर्नु नै समस्याको मुख्य कारण भएको भन्दै उनले त्यसमाथि लिमिटेडले तत्काल सुनुवाइ गर्न माग गरे।

थप कोटा खाद्यान्न मागका लागि खाद्य व्यवस्था समितिले २०७८ मंसिर १८ गते र फागुुन २६ गते निर्णय गरेर सो खाद्यान्न माग गरेको थियो।

बुधबार बसेको समितिको बैठकले पुनः थप कोटाको खाद्यान्न माग गरेको छ। योसहित जिल्लाबाट तेस्रो पटक थप खाद्यान्न माग गरिएको हो। बर्सेनि लिमिटेडबाट थप कोटा खाद्यान्न स्वीकृत हुँदै आउने गरेको थियो।

लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले नेपालगञ्जबाट ढुवानी जिम्मा पाएको तारा एयर र सुर्खेतबाट ढुवानीको जिम्मा पाएको समिट एयरले समयमै खाद्यान्न ढुवानी नगर्दा पनि जिल्लामा समस्या देखिएको बताए।

चालुु वर्ष नेपालगञ्जबाट ४ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा तारा एयरले अहिलेसम्म तीन सय क्विन्टल र सुर्खेतबाट समिट एयरले ६ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा तीन सय क्विन्टल नगरेको कारण समस्या देखिएको हो।

दुुवै एयरलाइन्सलाई आफ्नो ढुवानी गर्ने जिम्माको खाद्यान्न तत्काल ढुवानी गर्न ताकेता गर्दा पनि अटेरी गर्ने गरेकाले सिमकोटस्थित गोदाममा खाद्यान्न मौज्दात न्यून भएको होे।
यी एयरलाइन्सले नेपालगञ्जबाट प्रतिकेजी १६० रुपैयाँ र सुर्खेतबाट प्रतिकेजी १५५ रुपैयाँमा ढुवानी गर्ने गरी लिमिटेडसँग सम्झौता गरेका थिए।

गोदाममा खाद्यान्न तीन सय क्विन्टल मात्र मौज्दात छ। सो खाद्यान्न भैपरी आउने कार्यका लागि शाखाले बिक्री गर्दै आएको छ।

खाद्यान्न मौज्दात नभएकै कारण एक महिनादेखि सर्वसाधारणका लागि खाद्यान्न बिक्री वितरणसमेत गरिएको छैन। एक पटक खाद्यान्न बिक्री गर्न ३ हजार क्विन्टल खाद्यान्न आवश्यक पर्छ। अब चालुु वर्षको खाद्यान्न ढुवानी भए पनि त्यसले बिक्री गर्न नसकिने अवस्था रहेकाले लिमिटेड केन्द्रले थप कोटा खाद्यान्न पठाउनै पर्ने बाध्यता देखिएको हो।

 

जेठ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्