नेपाली महिला टिमलाई भारत र पाकिस्तानसँग खेल्ने मौका

फाइल तस्बिर

काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले सोमबारदेखि हङकङमा हुने एसिसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कपमा खेल्ने अवसर पाएको छ।

प्रतियोगिताका लागि छनोट भएको थाइल्यान्डले भिसा समस्याको कारण नाम फिर्ता लिएपछि नेपालले हङकङमा बलिया राष्ट्रविरुद्ध प्रतिस्पर्धाको अवसर पाएको हो।

१२ देखि २१ जुन सम्म हङकङमा हुने प्रतियोगिताका लागि एसिसीले बुधबार क्यानलाई सहभागिताका लागि पत्र पठाएको थियो। क्यानले सहभागिता निश्चित गरेको कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए।

उनले भने, ‘थाइल्यान्डले नखेल्ने भनेसँगै हामीलाई एसिसीले पत्र पठाएको थियो। जसअनुसार हामीले सहभागिताका लागि प्रक्रिया सुरु गरिसकेका छौँ।’

उनले टिम शनिबार सम्ममा हङकङ प्रस्थान गर्ने बताए।

समूह ‘ए’ मा नेपाल, हङकङ, भारत र पाकिस्तानका ए टोलीको सहभागिता रहने छ। नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्ने छ।

दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्ने कार्यतालिका रहेको छ। नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्ने कार्यतालिका रहेको छ।

त्यस्तै, प्रतियोगिताको समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए टोलीको सहभागिता रहने छ। प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउने छन्।

सेमिफाइनल १९ जुनमा हुँदा फाइनल २१ जुनमा हुने छ।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्