सिमकोटमा कोरोनापछि वृहत एकीकृत शिविर सुरु (तस्बिरसहित)

सिमकोट- हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा वृहत एकीकृत स्वास्थ्य शिविर बिहीबारबाट सुरु भएको छ।

विशेषज्ञ चिकित्सकद्वारा उपचार गरिने शिविरको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले उद्घाटन गरे।

सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको आयोजनामा शिविर सञ्चालन भएको हो।

शिविरमा मुटुरोग, प्रसुति तथा स्त्री रोग, जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, नाक, कान घाँटी, छाला रोग, बाल रोग लगायतका रोगहरूको उपचार सुरु भएको
स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए।

शिविरको प्रारम्भ सामाजिक संस्था, रेडक्रस सिंगापुरले प्रायोजना गरेको छ भने आधार विकास नेपालको पनि सहयोग रहेको छ।

पहिलो दिन सात सयभन्दा बढी बिरामी चेकजाँचका लागि लाइनमा बसेका छन् भने आउने क्रम जारी रहेको छ।

शिविरका लागि ६ जना विशेषज्ञ चिकित्सकहरू बिहीबार बिहान काठमाडौँबाट आइपुगेका हुन्।

जिल्ला अस्पतालका चिकित्सकहरूसमेत शिविरमा काम गरिरहेका छन्।

शिविर शनिबारसम्म सञ्चालन हुनेछ। शिविरका लागि तीनवटै गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीहरू पनि परिचालन भएका छन्।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्