शेयर बजारमा सीमित व्यक्तिहरूले मात्रै फाइदा उठाउने परम्परा अन्त्य हुनुपर्छ: अर्थममन्त्री महत

फाइल तस्बिर।

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले ५६ लाख शेयर लगानीकर्ताको नाम लिइ सीमित व्यक्तिहरूले मात्रै फाइदा उठाउने कुरा सह्य नहुने बताएका छन्।

नेपाल धितोपत्र बोर्डको ३१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सेयर मार्केट सीमित व्यक्तिको फाइदा पुग्ने माध्यमको रूपमा मात्रै सीमित बन्नु नहुने बताए।

अर्थमन्त्री महतले लगानीकर्ताहरू बैंकमा राख्दा बढी हुन्छ कि शेयर बजारमा लगानी गर्दा बढी कमाइन्छ भन्ने हिसाबले लगानी गर्ने गरेको भन्दै सीमित व्यक्तिलाई फाइदा हुनेगरी शेयर लगानी हुन नदिन बोर्डलाई आग्रह गरे।

उनले भने, ‘शेयर मार्केट सीमित व्यक्तिको फाइदा पुग्ने माध्यमको रूपमा मात्रै सीमित बन्नु हुँदैन। यसलाई अब प्रतिस्पर्धामा लैजानुपर्छ। प्रतिस्पर्धामा लैजान धितोपत्रले काम गरिरहेको छ। अटोमेटेड सिस्टममा र पेपरलेस हरेक क्रियाकलापलाई लैजाने गरी अघि बढ्नुपर्छ। यो शेयर मार्केटलाई अझ हेल्दी तरिकाले बिस्तारित गरेर लैजानुपर्छ, त्यसका लागि राष्ट्रबैंकले के गर्नुपर्छ, त्यसका लागि हामीले भनेका छौँ नै। मेरो तर्फबाट पनि कतै भ्रम सिर्जना गर्ने कोसिस नहोस्, शेयर मार्केट कमजोर गर्ने र विश्वास कम गर्नेकुरा हामीबाट हुँदैन। तर सीमित व्यक्तिहरूले मात्रै फाइदा उठाउने र नाम ५६ लाखको लिने गरी काम गर्ने परम्पराको अन्त्य हुनुपर्छ।’

शेयर बजारमा जलविद्युत कम्पनी बढी भएको र उद्योगी व्यवसायी यो क्षेत्रमा आउने क्रम बढेको अर्थमन्त्री महतले दाबी गरे।

उनले यस क्षेत्रमा आउने उद्योगी व्यवसायी बढ्दा पारदर्शिता बढ्न अपेक्षा रहेको समेत बताउँदै बजारलाई स्वस्थ बनाउन अनुगमन पारदर्शी बनाउन आग्रहसमेत गरे।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्