नारायणी अस्पतालमा असारसम्म एमआरआई मेसिन जडान गरिने

वीरगञ्ज – नारायणी अस्पताल वीरगञ्जमा जडानको क्रममा रहेको एमआरआई मेसिन असारसम्म जडान भई हस्तान्तरण गरिने भएको छ। एमआरआई मेशिन अस्पतालमा असार १५ गतेसम्म जडान भई हस्तान्तरण गरिने आपूर्तिकर्ताले प्रतिबद्धता जनाएको नारायणी अस्पतालले जानकारी दिएको छ।

आपूर्तिकर्ताका अनुसार विश्वव्यापी रूपमा हिलियम ग्यास अभावका कारण जडान गरी सञ्चालन गर्न नसकिएको एमआरआई मेसिनका लागि चाहिने हिलियम ग्यास पनि बुधबार अस्पतालमा आइपुगेको अस्पतालले जनाएको छ।

आपूर्तिकर्ताले असार १५ सम्म मेसिन जडान गरी सञ्चालन गर्ने जनशक्तिलाई तालिमसमेत दिने अस्पतालको भनाइ छ।

एमआरआई मेसिनमा पर्मानेन्ट म्याग्नेट प्रयोग हुने र त्यसलाई चिसो पार्न हिलियम ग्यास आवश्यक पर्ने तथा विद्युत् आपूर्तिको पनि व्यवस्था अहिले गरिसकेको नारायणी अस्पतालका प्रवक्ता डा.उदय नारायण सिंहले बताए।

उनले प्रेस विज्ञप्ति जारी गरी आपूर्तिकर्ता र प्राविधिकका अनुसार मेसिन सञ्चालनका लागि भौतिक पूर्वाधारको समेत सम्पूर्ण व्यवस्था गरिसकिएको बताए।

अस्पतालमा जडान भइरहेको एमआरआई मेसिनबारे सञ्चार माध्यममा आएको समाचारबारे ध्यानाकर्षण भएको बताउँदै डा.सिंहले एमआरआई मेसिन जडानको विषयमा प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका हुन्।
सरकारले नारायणी अस्पताललाई पाँच सय शय्याको अस्पताल बनाउने उद्देश्यसहित केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति गरिरहेको छ।

सोही क्रममा ०७९ साल फागुन दोस्रो साता अस्पतालमा थ्रि टेस्ला एमआई मेसिन आएको थियो।

उक्त मेसिनको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञ टोलीले अनुगमनसमेत गरी जडानको स्वीकृतिसमेत दिइसकेको छ।

असार १५ गतेसम्म एमआरआई मेसिन जडान भएपछि साउनदेखि नै अस्पतालले सर्वसाधारणका लागि एमआरआई सेवा सुरु गर्ने जनाएको छ।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्