गर्मी बढेसँगै सुक्न थाले पर्साका चापाकल, खानेपानीको समस्यामा स्थानीय

वीरगञ्ज – गर्मी बढेसँगै पर्साका अधिकांश चापाकल सुक्न थालेका छन्। जिल्लाका अधिकांश पालिकामा स्थानीयले खानेपानीका लागि जडान गरेको चापाकल सुकेका हुन्। चापाकल सुकेपछि स्थानीयवासीलाई खानेपानीको समस्या पर्न थालेको छ।

बढ्दै गएको गर्मीसँगै एकाएक चापाकलबाट पानी आउन छाडेको, कतिपय चापाकल सुकेको स्थानीय बताउँछन्। खानेपानीका लागि प्रायः हरेक घरमा चापाकल जडान गरिए पनि अहिले उक्त चापाकलमध्ये अधिकांश सुकेको पाइएको छ।

चापाकल सुक्न थालेसँगै नजिक रहेका अरूको चापाकलमा पानी लिन जानुपर्ने बाध्यता आइलागेको पर्सावासी बताउँछन्। लागातारको गर्मीसँगै खानेपानीका लागि घरमा जडान भएका चापाकलसँगै खेतबारीमा सिँचाइका लागि जडान गरिएका बोरिङबाट समेत पानी आउन छाडेको छ।

पर्सामा दैनिक ४२ देखि ४३ डिग्रीसम्म दिउँसोको समय तापक्रम पुग्ने गरेको छ। गर्मी मौसममा अचानक खानेपानीका लागि जडान गरिएका चापाकल सुक्न थालेको पर्साको बहुदरमाई नगरपालिका–५ भौराटारका अम्जद मियाँले जानकारी दिए।

उनले आफूसहित टोलमा रहेका दर्जनभन्दा बढी चापाकल सुकेर पानी आउन छाडेको बताए। बढ्दो गर्मीसँगै चापाकलबाट पानी आउन छाडेपछि यसमा सम्बन्धित निकायले चाँडै ध्यान दिन जरुरी रहेको मियाँले बताए।

जंगल धमाधम मासिने क्रम बढेको, नदीको चरम दोहनजस्ता कारणले त्यसको असर वातावरणमा परेर अहिले चापाकलबाट पानी आउन छाडेको नेपाल खानेपानी संस्थान वीरगञ्ज वितरण केन्द्रका प्रमुख निरन महर्जनले बताए।

त्यसैगरी जताततै बाटोमा भइरहेको सिमेन्टका पिसिसि ढलानले गर्दा वर्षा भएको बेला जमिनसम्म पानी नपुग्नु र व्यापक सहरीकरणले पनि पानीको मुहानमा असर परेको उनले बताए।

उनले औद्योगिक क्षेत्रबाट हुने फोहोर नियन्त्रण गर्नसमेत सुझाव दिए। वीरगञ्जमा पनि धमाधम चापाकल सुक्न थालेपछि महानगरले १८ वटा वडामा धारा जडान गर्ने भएको छ। महानगर प्रमुख राजेशमान सिंहले सामाजिक सञ्जाल आफ्नो फेसबुकमार्फत महानगरका एकदेखि १६, १७ र १९ नम्बर वडामा चार हजार धारा जडान गर्ने जानकारी दिएका छन्। खानेपानी संस्थानसँग समन्वय गरी चार हजार घरधुरीमा निःशुल्क सरकारी धारा जडान गरिने उनले बताएका छन्।

 

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्