प्रतिबन्धित खेलाडीले घरेलु भेट्रान्स फुटबल प्रतियोगिता खेलेको विषयमा फिफाको आपत्ति

मोरङ – आजीवन फुटबल गतिविधिमा प्रतिबन्ध लागेका एक पूर्वराष्ट्रिय खेलाडीले घरेलु भेट्रान्स फुटबल प्रतियोगिता खेलेको विषयमा फिफाको अनुशासन समितिले आपत्ति जनाएको छ।

नेपाली फुटबलको सर्वोच्च निकाय एन्फालाई पूर्वराष्ट्रिय कप्तान सागर थापाले फिफा र एन्फाको लोगो र ब्यानरमा आयोजित फुटबल प्रतियोगिता खेलेकोमा फिफाको समितिले आपत्ति जनाएको हो।

एन्फाका महासचिव किरण राईका अनुसार प्रतियोगितामा खेलिएको विषयमा फिफाबाट ध्यानाकर्षण भएको जानकारी दिए।

महासचिव राईले भने, ‘फुटबलको माथिल्लो निकाय फिफाबाट फुटबल प्रतियोगिता खेलेको विषयमा ध्यानाकर्षणसहितको पत्र पाएका छौँ। सो पत्रको जवाफसमेत हामीले निकायमा पठाइसकेका छाँै। फिफा र एएफसीले प्रतिबन्ध लगाएका खेलाडीलाई आगामी दिनमा कुनै पनि प्रतियोगिता खेल्न नदिने व्यहोरासहित जानकारी गराएका छाैँ।’

प्रतिबन्धित खेलाडीलाई फुटबल नखेलाउन जिल्ला र आबद्ध निकायमा समेत एन्फाले जानकारी गराएको उनले बताए।

एएफसीले एन्फालाई पठाएको पत्रमा फिफा र एन्फाको लोगोमुनि आयोजित फुटबल म्याचमा फुटबलको गतिविधिबाट जीवनभर प्रतिबन्धको कारबाही पाएका पूर्वराष्ट्रिय खेलाडी सागर थापाले खेलेको जानकारीमा आएको उल्लेख गरिएको छ। थापाले एन्फाले मान्यता दिएको केही भेट्रान्स फुटबल प्रतियोगिता खेलेका थिए।

पत्रमा एन्फाले मौनता साँधेर थापालाई घरेलु सिनियर लिगबाहेक भेट्रान्स प्रतियोगिता खेल्न दिएको जनाइएको छ।
एन्फाका एक पदाधिकारीका अनुसार एएफसीले केही महिनाअघि फिफा र एएफसीलाई जवाफी व्यहोराको पत्र पठाएको छ।

यस क्रममा एन्फाले यस वर्ष भेट्रान्स प्रतियोगिता आयोजना भएका विभिन्न जिल्लालाई समेत थापासहित अन्य खेलेको नखेलेको विषयमा जानकारी माग गरेको थियो।

खेल मिलेमतो प्रकरणका कारण आजीवन फुटबल गतिविधिको प्रतिबन्धमा परेका खेलाडीलाई फिफा तथा एएफसीले फुटबल खेल्न र फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने उल्लेख गरेको छ।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्