विद्यालयको विवरण यकिन गर्न इमिस हेर्ने शिक्षक र कर्मचारीलाई क्षमता विकास तालिम

सिमकोट – सिमकोट गाउँपालिकाको शिक्षा शाखाले सामुदायिक र संस्थागत विद्यालयका एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली हेर्ने शिक्षक र कर्मचारीलाई क्षमता विकास तालिम दिएको छ।

सबै विद्यालयबाट सो प्रणालीमा विवरण समयमै भर्ने कार्य नभएपछि शाखाले तालिमको व्यवस्था गरेको हो।

शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले अहिले सम्पूर्ण रूपमा विद्यालयको विवरण इमिसमा प्रविष्ट गर्नुपर्ने भएकाले विद्यालयमा यससम्बन्धी काम गर्ने शिक्षक र कर्मचारीलाई दुुई दिने तालिम प्रदान गरिएको बताए।

सिमकोटमा २१ वटा सामुदायिक र चार वटा संस्थागत विद्यालय छन्। यसका लागि २५ जना सहभागी थिए। तालिमका सहभागीलाई सैद्धान्तिक र प्रयोगात्मक सीप प्रदान गरिएको थियो। उनले तालिम प्रदान गरिएको कारण अब विद्यालयबाट इमिसमा प्रविष्ट गर्नुपर्ने विवरण विद्यालयबाट समयमै हुने विश्वाससमेत व्यक्त गरे।

तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष विजय भण्डारीले तालिमको सदुुपयोग गरेर सिकेका कुरा प्रयोगमा ल्याउन सहभागी शिक्षक कर्मचारीलाई आग्रह गरे।

कार्यक्रममा उपाध्यक्ष सुशिला रोकाया भामले तालिमपछि विद्यालयमा इमिसमा यथार्थ विवरण आउने विश्वास व्यक्त गरिन्।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्