इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता सोमबारबाट हुँदै

मोरङ – सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डबीचको टकरावसँगै रोकिएको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आउँदो सोमबारबाट हुने भएको छ।

सुनसरीको इटहरीमा आयोजना हुने प्रतियोगिताबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोर्डका सदस्यसचिव हंशराज वाग्लेले रोकिएका र अब हुने सबै प्रतियोगिता हुने बताए।

बोर्डको बैंकिङ खाता मन्त्रालयले रोक्दा निर्धारित खेलकुदका कार्यक्रम हुने नहुने अन्योल थियो। यद्यपि, मन्त्रालयले गत साता खाता फुकुवा गर्दै सञ्चालनमा ल्याएपछि रोकिएका प्रतियोगिता सुरु हुन थालेको सदस्यसचिव वाग्लेले जानकारी दिए।

पत्रकार सम्मलेनमा सदस्यसचिव वाग्लेले २९ गतेबाट चार दिनसम्म हुने प्रतियोगितामा तीन विभागीयसँगै बागमती प्रदेश, लुम्बिनी प्रदेश र आयोजक कोसी प्रदेशको सहभागिता रहने जानकारी दिए।

पत्रकार सम्मेलनमा भलिबल संघ सुनसरीका अध्यक्ष विक्रमबाबु थापाले विजयी टोलीले ३ लाख, दोस्रो हुने टोलीले १ लाख ५० हजार र सर्वोत्कृष्ट खेलाडीले ५५ हजार रुपैयाँ हात पार्ने जानकारी दिए।

इटहरी रंगशालामा राति हुने प्रतियोगितामा विभिन्न पाँच विधामा समेत पुरस्कार राखिएको अध्यक्ष थापाले बताए।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्