पूर्वउपप्रधानमन्त्री निधिबाट राससको तस्बिर प्रदर्शनी अवलोकन

काठमाडाैँ – पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालयमा जारी संस्कृति र सम्पदासम्बन्धी तस्बिर प्रदर्शनको आज अवलोकन गरेका छन्।

कांग्रेसका पूर्वउपसभापतिसमेत रहेका प्रतिनिधिसभाका सांसद निधिले तस्बिर अवलोकनपछि प्रतिक्रिया दिँदै नेपालको सांस्कृतिक विविधता र एकतालाई झल्काउने गरी राससले तस्बिर प्रदर्शनी गरेकामा खुसी व्यक्त गरे। प्रदर्शनीले समाजको विविधता बुझाउन सहयोग गर्ने उनको विश्वास छ।

सांसद निधिले राससबाट हालसम्म प्रयोग गरेका तस्बिरको बृहत् प्रदर्शनी केन्द्र वा प्रदेश प्रदेशस्तरमा गर्न सुझाव दिँदै त्यसो हुन सकेमा राष्ट्रका लागि योगदान पुग्ने उल्लेख गरे ।

नेता निधिलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, सञ्चालक समितिका सदस्य कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतल महतोलगायतले स्वागत गरेका थिए। गणतन्त्र दिवस २०८० का अवसरमा जेठ ११ गतेदेखि जारी सो प्रदर्शनी यही जेठ मसान्तसम्म सञ्चालन हुनेछ।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्