बुटवलमा पहिल्यैदेखि छ ग्रेटर नेपालको नक्सा

Greater Nepal

बुटवल – भारतले आफ्नो संसदमा अखण्ड भारत नाम दिएर नेपालका केही स्थानका नामसहितको नक्शा राखेपछि त्यसले नेपाली राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा यो विषयमा कुरा उठाउनुपर्ने र हाल नेपालमा रहेका भूमिको नाम हटाउनुपर्ने माग राख्न दबाब सिर्जना भएको थियो। प्रधानमन्त्रीको भ्रमणका क्रममा यी कुराले औपचारिकता नपाए पनि नेपालमा राजनीतिक रुपमा भने यसको चर्चा सेलाएको छैन।

यहीबीचमा केही सञ्चारमाध्यममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो ‘ग्रेटर नेपाल’ जारी गरी हक खोज्नुपर्ने बताएको उल्लेख गरेका छन्। विराटनगर विमानस्थलमा बिहीबार बिहान पत्रकारसँग उनले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा जारी गर्नुपर्ने बताएको सञ्चारमाध्यममा चर्चा छ।

बिहीबार नै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्शा राखेपछि यसले पुनः तरंग सिर्जना गर्‍यो।

ग्रेटर नेपालको नक्शा कार्यकक्षमा राखेपछि खुला आकाशमुनि रहेको बुटवलको जितगढी किल्लास्थित ग्रेटर नेपालको नक्शा चर्चामा आएको छ। बुटवलको जितगढी किल्लामा गत वर्ष ग्रेटर नेपालको नक्शा राखिएको थियो।

ग्रेटर नेपाल त्यसबेलाको कुरा हो, जतिबेला सुगौली सन्धि भएको थिएन । कुनै समय पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म पुगेको नेपालको भूमि सुगौली सन्धिपछि मेची र महाकालीमा खुम्चिन पुग्यो।

बेलायतबाट व्यापार गर्न आएका अंग्रेजहरु भारतलाई उपनिवेश बनाएर बसेका थिए । त्यहाँ शासन सञ्चालन गर्न बेलायतले खडा गरेको थियो इष्ट इन्डिया कम्पनी । त्यही इष्ट इन्डिया कम्पनीको फौजसँगको युद्धमा जित हासिल गरेको थलोमध्येको एक हो बुटवलको जितगढी किल्ला । वि.सं. १८७१र१८७२ मा नेपालको पश्चिम क्षेत्र कब्जा गर्न अंग्रेज फौज आएको थियो।

अध्येता निर्मल श्रेष्ठका अनुसार, भारतमा बसेर चारैतिर व्यापार, व्यवसाय बढाइरहेको इस्ट–इन्डिया कम्पनी सरकारलाई चीन जाने सुगम बाटो र चिया खेतीका लागि अनुकूल भूमि खोजिरहेको थियो। त्यस्तो भूमि नेपाल हुने र नेपालसँग सजिलै भूमि प्राप्त गर्न सकिन्न भन्ने कम्पनी सरकारले बुझेका कारण उसले नेपालसँग किचलो हुने विन्दुहरूको खोजी गरी युद्ध थालेको उनी बताउँछन्।

बुटवल र स्युराज (शिवराज, कपिलवस्तु) को विषयमा किचलो उठाई १ नोभेम्बर १८१४ मा अंग्रेजले नेपाल विरुद्ध एकतर्फी युद्ध घोषणा गरेको थियो। बुटवल क्षेत्रमा हमला गर्न मेजर जनरल जोन सुलिमान उड एक हजार बेलायती सेना र तीन हजार हिन्दुस्तानी फौज लिएर आएका थिए।

जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको उनी बताउँछन् ।

‘अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भयो र युद्धमा अंग्रेज टोली ठूलो क्षति बेहोरेर फिर्ता भएको थियो’ उनी भन्छन्, ‘तीन महीनापछि जनरल उडकै नेतृत्वमा बुटवलमा आक्रमण भयो, आक्रमणबाट सेनकालीन दरबार ध्वस्त भयो। दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे। यो लडाइँमा पनि नेपाली सेनाले अंग्रेज फौजलाई पराजित गर्‍यो ।’

इतिहासकार श्रेष्ठका भनाइमा कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले अंग्रेज फौजलाई ७ वैशाख १८७२ मा जितगढी किल्लामा पराजित गरेको थियो। यही अवसरमा बुटवल उपमहानगरपालिकाले हरेक वर्ष वैशाख ७ मा जितगढी उत्सव मनाउँदै आएको छ। बुटवलले जित हासिल गरेको खुशीयालीमा हरेक वर्ष उत्सव मनाउन थालिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय बताउँछन्।

उनका अनुसार नेपाल अंग्रेज युद्धताका प्रयोग भएका हतियार र अन्य युद्धसँग सम्बन्धित सामग्री संग्रह गरेर राख्नका लागि जितगढी किल्लाकै नजिकमा युद्ध संग्रहालय निर्माणाधीन अवस्थामा छ । यसले नेपाल अंग्रेज युद्धका बारेमा आगामी पुस्तालाई ज्ञान हस्तान्तरण गर्ने र पर्यटकीय स्थलका रुपमा विकास हुने उनको भनाइ छ।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्