दूधकोसी जलविद्युत् परियोजनामा लगानी प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रीको आग्रह

फाइल तस्बिर।

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले जलाशययुक्त दूधकोसी जलविद्युत परियोजनामा लगानी प्रक्रिया अगाडि बढाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन्।

बिहीवार अर्थ मन्त्रालयमा माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन विभिन्न दातृ निकायका प्रतिनिधिहरूसँग छलफल भएको थियो। सो छलफलका क्रममा अर्थमन्त्री महतले जलाशययुक्त दूधकोसी जलविद्युत् परियोजनामा पनि लगानी प्रक्रिया अगाडि बढाउन एसियाली विकास बैंकलाई आग्रह गरेका हुन्।

उनले सुक्खायाममा भारतबाट बिजुली आयात गर्नुपरेको उल्लेख गर्दै नेपाललाई धेरै जलाशययुक्त योजना आवश्यक रहेको बताए। उनले नेपालमा पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेको भन्दै यहाँ जलविद्युतको ठूलो सम्भावना रहेको बताए।
उनले विश्व बैंकले माथिल्लो अरूणमा लगानी गर्न खोज्नु सकारात्मक भएको बताए।

१०६१ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरूण जलविद्युत् परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विश्व बैंक, एसियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फण्ड, युरोपियन युनियन, युरोपियन लगानी बैंक, कुबेद फण्ड, जर्मन, नर्वे, साउदी विकास फण्डलगायत दातृ निकायका प्रतिनिधिसँग छलफल भएको थियो।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्