स्कटल्यान्डसँगको अभ्यास खेलमा नेपाल ७ विकेटले पराजित

फाइल फोटो

काठमाडौं-विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाल आफ्नो पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको छ। स्कटल्यान्डविरूद्धको अभ्यास खेलमा नेपाल १ सय ३५ रनमै समेटिएपछि स्कटल्यान्डले सहज जित निकाल्यो।

नेपालले दिएको सामान्य स्कोर पछ्याएको स्कटल्यान्डले २९ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। स्कटल्यान्डका लागि कप्तान रिची बेरिंग्टन ४१ र ब्रेन्डन म्याकमुलनले ५९ रनको अविजित इनिङ खेलेका थिए। नेपालका लागि गुलशन झाले दुई विकेट लिंदा  सोमपाल कामीले एक विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २८.५ ओभरमा अलआट हुँदै १३५ रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले ३७ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक ओपनरद्वय कुशल भुर्तेल १६ रन र आसिफ शेख २८ रन बनाएका थिए। त्यस्तै भीम सार्की ८ रन, ज्ञानेन्द्र मल्ल ७ रन बनाउँदा कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए। दीपेन्द्रसिंह ऐरीले १३ रन बनाउँदा आरिफ शेख ५ रन, गुल्शन झा ५ रन र सोमपाल कामी ३ रनमा आउट भएका थिए। बलिङमा स्कटल्यान्डका बी म्याकमुलेन र  जे जर्भिसले समान ३-३ विकेट लिए।

दक्षिण अफ्रिकापछि नेपाल जिम्बावेमामा हुने आइसिसी विश्वकप छनोट प्रतियोगितामा  सहभागिताका लागि त्यसतर्फ प्रस्थान गर्ने छ। जिम्बावे पुगेपछि नेपालले ओमान र युएईसँग वार्मअप खेल खेल्ने छ। १० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा  छ। समूहमा नेपालसहित, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिकाको सामना गर्ने छ। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्