बसको ठक्करले स्कुटर चालकको मृत्यु, स्थानीयले लगाए बसमा आगो

सांकेतिक तस्बिर।

मोरङ- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी-३ नयाँ मंगलबारेमा बिहीबार दिउँसो यात्रुवाहक बसले स्कुटरमा सवार यात्रुलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएपछि स्थानीयवासीले बसमा आगजनी गरेका छन्।

पश्चिमबाट पूर्व गइरहेको मे १ ख ३०७३ नम्बरको बसले बिहीबार दिउँसो विपरीत दिशाबाट आइरहेको प्र-१-०१-०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिँदा झापाको कमल गाउँपालिका वडा नम्बर २ का ३४ वर्षीय पवन सुवेदीको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीका अनुसार बसले स्कुटरलाई ठक्कर दिएको स्थानबाट मृतकको शरीर एक सय ३५ फिट पर उछिट्टिएको थियो भने स्कुटरलाई बसले घिसारेर २ सय ९५ फिट पर पुर्‍याएको थियो।

तीव्र गतिका कारण बसले स्कुटरलाई ठक्कर दिएको भन्दै आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन्। आगजनीबाट बसमा नराम्ररी क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्