पहिलो पटक हुम्लामा बिरामीको अकुुपन्चर विधिको उपचार (तस्बिरहरु)

सिमकोट – हाड जोर्नी दुख्ने हड्डीसम्बन्धी बिरामीका लागि पहिलो पटक अकुपन्चर विधिबाट उपचार गर्ने कार्य भएको छ। बिहीबारबाट सुुरु भएको बृहत् एकीकृत स्वास्थ्य शिविरमा बिरामीको अकुपन्चर सेवा सुुरु गरिएको हो।

दाँया हात नचल्ने समस्याबाट ग्रसित बिरामी सिमकोट गाउँपालिका– ५ की जनकुला कामीले पहिलो पटक यो विधिबाट उपचार गर्न पाएको बताइन्।

यसअघि ढाड दुख्ने समस्याबाट ग्रसित भएपछि काठमाडौँ पुुगेर उपचार गरेकी उनले खासै सन्चो नभएपछि बिमार दबाएर बस्दै आएकी थिइन्।

शिविरमा अकुपन्चर सेवाबाट यसको उपचार हुने जानकारी पाएपछि उपचार गर्न पुुगेकी कामीले पहिलो दिन सात वटा नुडल्स लगाएपछि दुखाइ कम भएको अनुुभव सुनाइन्। दोस्रो दिन पनि उपचार गरिरहेकी उनले पाँच वटा नुडल्स लगाएकी थिइन्।

शिविरका लागि ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालबाट उपचारका लागि आइपुुगेका चिकित्सक स्कन्द डाँगीले हाड जोर्नी दुुख्ने बिरामीको पहिलो दिनबाट उपचार लगातार भइरहेको बताए।

उनले एक जना बिरामीको अवस्था हेरी नुडल्सको संख्या थप्नुपर्ने बताउँदै आधा घण्टादेखि ४५ मिनेटसम्म बिरामीको शरीरमा नुडल्न लगाउने गरिएको बताए।

अधिकांश ५० वर्षभन्दा माथि उमेर समूहका बिरामी यो विधिबाट उपचार गराइरहेका छन्। तीन हजारभन्दा बढी रोगको उपचार गर्ने यो विधिबाट कुनै पनि साइटइफेक्ट नपर्ने बताउँदै दुुर्गम स्थानमा पहिलो पटक उपचार गरिएको बताए।

उक्त विधिको उपचारका लागि जिल्ला अस्पतालबाट खटिएकी वरिष्ठ अनमी सरिता बोहराले पहिलो दिन १७१ जनाले यो विधिबाट उपचार गरेकोमा दोस्रो दिन यो समाचार तयार पारुन्जेलसम्म २४३ जना बिरामीको उपचार भइरहेको र अझै बिरामी लाइनमा बसेकाले संख्या बढ्ने बताइन्।

उपचारमा आउने पुुरुषभन्दा महिलाको संख्या बढी छ। यसअघि एउटा संस्थाले सीमित बिरामीको यो विधिबाट उपचार गरिए पनि सर्वसाधारणका लागि यसरी उपचार गरिएको पहिलो पटक हो।

तस्बिरहरु: बर्षा शाह/देशसञ्चार

जेठ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्