गर्मीसँगै बढ्यो चिसो पेय पदार्थ र पौडी खेल्नेको भीड

मोरङ – अत्यधिक रूपमा बढेको गर्मीसँगै चिसो पेय पदार्थ र पौडी खेल्नेको भीड बढ्दै गएको छ।
पछिल्लो केही दिनयता तराई क्षेत्रमा बढेको गर्मीसँगै दही, आइसक्रिम, लस्सी, फलफूलको विक्रीवितरणसँगै पौडी पोखरीमा नुहाउन पुग्नेको संख्यामा वृद्धि हुँदै गएको छ।

दैनिक ४१ डिग्री सेल्सियस उच्च तापक्रमसम्म पुग्ने गरेको छ। विराटनगरस्थित दु्ग्ध वितरण आयोजना विराटनगरका प्रमुख परमेश्वर चौधरीले बढ्दो गर्मीसँगै दही, आइसक्रिमलगायतको माग बढ्दै गएको बताए।

आयोजनाले दैनिक १ हजार ५ सय लिटरसम्म दही उत्पादन गर्दै आएकोमा पछिल्लो समय २ हजार ५ सय लिटरसम्म खपत हुन थालेको उनले जानकारी दिए।

गिलास, प्याकेट र कपमा गरी विभिन्न तौलमा दही उत्पादन हुँदै आएको बताएका प्रमुख चौधरीले गर्मीकै कारण दैनिक १ हजार लिटर बढी दही उत्पादन गर्दै आएको बताए।

आयोजनामा ५ हजार लिटर दही उत्पादन क्षमता रहे पनि दैनिकको माग र मौसमअनुकूल उत्पादन हुने गरेको उनको भनाइ छ। आयोजनाले उत्पादन गर्ने दहीसँगै आइसक्रिम र लस्सीको समेत माग बढेको प्रमुख चौधरीले जानकारी दिए।

आयोजनाले दैनिक ५ सय बोतल लस्सी र सय लिटरको आइसक्रिम उत्पादन गर्दै आएको छ। आयोजना प्रमुख चौधरीका अनुसार गर्मीयामसँगै विवाहको समयमा दही, आइसक्रिमको माग बढ्ने गरेको छ।

गर्मीका कारण पौडी पोखरीमा पुग्ने सर्वसाधारणको संख्यामा समेत वृद्धि भएको छ। सुनसरीको इटहरीस्थित द ओसियन पार्क एण्ड रिसोर्टका सञ्चालक डम्मर तामाङ स्विमिङ पुलमा नुहाउन आउने सर्वसाधारणको संख्यामा उल्लेख वृद्धि भएको बताउँछन्।
वैशाख अन्त्यसम्म बेलुका ८ बजेसम्म खुला हुँदै आएको रिसोर्ट पछिल्लो समय बढेको गर्मीका कारण राति १० बजेसम्म खुला गर्नुपर्ने अवस्था आएको उनले बताए।

रिसोर्टका सञ्चालक तामाङले भने, ‘४०, ४२ डिग्रीको उच्च तापक्रमका कारण सर्वसाधारणले बेलुका घरमा बस्न गाह्रो भएको जनाउँदै पौडी खेल्न आउने गरेका छन्। हामी आफँै पनि ६ बजे काउन्टर बन्द गर्न बाध्य छौँ। तैपनि, गर्मी छल्न आउनुहुने सर्वसाधारणलाई सुविधा दिन १० बजेसम्म रिसोर्ट र पौडी पोखरी खुला गरेका हौँ।’

दुई बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा गर्मी छल्न युवायुवती तथा बयस्क परिवारसहित रिसोर्ट पुग्ने गरेको उनको भनाइ छ। आर्थिक मन्दीको चपेटामा पर्दै आएको पौडी पोखरीमा बिदाको दिन शनिबार र आइतबार दैनिक ५ सयसम्म सर्वसाधारण पुग्ने गरेको उनले बताए। अन्य सामान्य दिन दैनिक सय जना हाराहारीमा नुहाउन पौडी पोखरी पुग्ने गरेको बताएका सञ्चालक तामाङले गर्मीकै कारण दिउँसो भन्दा पनि साँझ र राति सर्वसाधारणको भीड हुने गरेको बताए।

उनले भने, ‘दिउँसो अत्यधिक गर्मी हुँदा पोखरीको पानी पनि तात्ने सम्भावना हुन्छ। तर, बेलुका भने कार्यालयको काम सकेर, घरमा बसेर बाहिर निस्कन चाहनेहरू शीतलता लिन रिसोर्ट पुग्ने गरेका हुन्।’

 

जेठ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्