बजेटबारे ओलीको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण छः जनार्दन शर्मा

काठमाडौँ – सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे दिएको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताएका छन्।

अध्यक्ष ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई शुन्य मार्क दिनु भएको उल्लेख गर्दै उपमहासचिव शर्माले उहाँको सो मूल्यांकन सत्ताबाट विमुख हुनुपर्दाको पूवाग्रह र प्रतिशोधबाट प्रेरित रहेको प्रतिक्रिया दिएका हुन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटलाई राजनीतिक रंग दिएर हेर्ने काम बस्तुनिष्ट हुनै नसक्ने बताए।

उपमहासचिव शर्माले आगामी १० वर्षको बजेटको वस्तुनिष्ठ समीक्षा गर्नका लागि उच्चस्तरीय आयोग बनाउन प्रस्तावसमेत गरे। यसरी बनेको उच्चस्तरीय आयोगले बजेटको सही मूल्यांकन गर्न सक्ने र मुलुकमा विद्यमान आर्थिक संकट समाधान गर्न सकिने उनको तर्क थियो।

उपमहासचिव शर्माले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अन्तर्राष्ट्रिय क्षेत्रका स्वतन्त्र पहिचान भएका विज्ञहरूको पनि सहयोग लिनुपर्ने आवश्यक्ता औंल्याए।

जेठ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्