टोपबहादुरको बचाउमा उत्रिएका वकिल भन्छन्, टेकनाथ रिजालको बयान पत्याइहाल्नु हुँदैन

फाइल तस्बिर

काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरुको पक्षमा जिल्ला अदालत काठमाडौंमा प्रतिरक्षा बहस जारी छ।

बहसका क्रममा शुक्रबार एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको पक्षमा बहस भएकाे छ। वरिष्ठ अधिवक्ता रमेश बडालले अभियुक्तमध्ये केशव दुलाल, सानु भण्डारी र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको नियतमाथि प्रश्न उठाएका छन्।

रायमाझीको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता रमेश बडालसहितले बहस गरे।

रिजालले यसअघि सरकारी वकिललाई दिएको बयानमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टोपबहादुरमार्फत सबै काम हुने बताएको बयान दिएका थिए। रायमाझीले आफूलाई प्रचण्डसँग उनको खुमलटारस्थित निवासमै लगेर भेटाएकोसमेत उनले बताएका थिए। प्रचण्डले त्यति भनेपछि अरु काम सरासर भएको बयान उनको थियो।

गृहमन्त्री रामबहादुर थापा बादलका स्वकीयको कोठामा गएर बसेको भनिएको कुरालाई हावादारी रहेको बडालले बहसका  क्रममा बताए।

रायमाझीको बचाउमा उत्रिएका बडालले रिजालको मानसिक स्वास्थ्यमा समेत प्रश्न उठाएका छन्।

रिजालले आफुले लेखेको किताबमा उल्लेख गरेको कुराहरुलाई आधार मान्दै मानसिक स्वास्थ्यमा नै प्रश्न उठाएका हुन्। रिजालले किताबमा भुटानको जेलमा बस्दा आफ्नो माइन्ड कन्ट्रोल गरिएको भनेका छन्।

‘उनले किताबमै मैले जे भन्न खोजिरहेको हुन्छु, त्यो मैले भन्न सकिरहेको हुन्न भनेका छन्। मेरो कुरा अरु कसैले भनिरहेको छ भनेर लेखेका छन्।’ बडाल भन्छन्, ‘भुटानमा दिइएको यातनाको असर अहिले पनि उनीमा देखिन्छ। उनको बयान पत्याइ हाल्नु हुँदैन।’

बडालले घुमाउरो शैलीमा रिजालको मानसिक स्वास्थ्यमासमेत प्रश्न गर्दै रायमाझीको बचाउमा भने ‘उहाँले आरोप लगाउँदैमा, बयानमा पोल्दैमा टोपबहादुरलाई अभियुक्त भन्न मिल्दैन।’

बडालले सानु भण्डारीको डायरीमा भएका कुराहरुलाई पनि पत्याउने अवस्था नरहेको बताएका छन्। सानु भण्डारीको डायरीमा टोपबहादुरको छोरालाई पैसा दिएको भनिएको छ। सोहि कुरालाई लिएमा रायमाझीको बचाउ गर्दै उनले भने ‘छोराले पैसा बुझेको केसमा बाबुलाई प्रतिवादी बनाउन मिल्दैन।’

शुक्रबार रायमाझीको पक्षमा थुनछेक बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले निहित स्वार्थ राखेर मुद्दा चलाइएको जिकिर गरे।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पन्तले सानु भण्डारीले प्रहरी समक्ष दिएको बयानका आधारमा मुद्दा चलाइएको दाबी गर्दै भने, ‘यो निहित स्वार्थ राखेर ल्याइएको मुद्दा हो। दोहोर्याएर बयान गराएर उम्कन चाहेकोलाई उम्काइएको छ। जोगाउन चाहेकोलाई जोगाइएको छ। कोहीलाई सामान्य सोधपुछसम्म गरिएन।’

उनले मुद्दामा बनाउनु पर्नेलाई प्रतिवादी नै नबनाइएको जिकिर लिए। सानु भण्डारीको डायरीमा टोबहादुर रायमाझीको नाम उल्लेख भएको प्रति टिप्पणी गर्दै पन्तले भने, ‘अभियोग पत्रमा डायरीको प्रसंग गोलमोटल रुपमा आएको छ।’

अधिवक्ता पर्शुराम कोइरालाले रायमाझीले पैसा लिएको किटानी जाहेरीमा उल्लेख नभएकाले धरौटीमा रिहा गरेर मुद्दा पुर्पक्ष गर्न आग्रह गरे। एकैपटक पाँचवटा अभियोगमा मुद्दा दायर हुनुले अनुसन्धान नै अन्योलग्रत रहेको अधिवक्ता काइरालाले बताए।

‘इन्कारी बयान छ। तत्काल प्राप्प प्रमाणले कहीँ पनि थुन्न सक्ने अवस्था छैन। उहाँ विरुद्धको जाहेरीमा पैसा लिएको भन्ने छैन, रायमाझीको बचाउ गर्दै उनले भने, ‘अनुसन्धान आफैंमा अन्योलमा छ। यो मुद्दा पनि हालौ, त्यो पनि हालौ भनेर धेरै अभियोग थुपारिएको छ। अभियोजकले कसरी दुख दिने भन्ने नियतका साथ अघि बढेको देखिन्छ।’

रायमाझलीका अर्का वकिल धर्मराज रेग्मीले विगो समेत गोश्वरा रुपमा ल्याइएको दाबी गर्दैै मुद्दाको औचित्यमाथि नै प्रश्न उठाए। रेग्मीले भने, ‘लेखाको विषय पनि कहीँ गोश्वरा हुन्छ?’

शुक्रबारसम्म रायमाझीसहित ७ जना अभियुक्तको पक्षमा अधिवक्ताहरुले प्रतिरक्षा बहस गरिसकेका छन्।

जेठ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्