भारतीय बजारबाट सय रुपैयाँ भन्दा धेरैको सामान ल्याए भन्सार तिर्नुपर्ने

काठमाडौं- भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा नेपाल सरकारले भन्सार लगाउने भएको छ ।

नेपालीले किनमेल गर्दा एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने भएको हो। परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै अब भारतीय बजारमा नेपालीले किनमेल गर्दा एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने छ ।

यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन । यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सार विभागको दाबी छ।

१५ जेठमा परिस्कृत रुपमा अर्थ मन्त्रालयले प्रकाशित गरेको यात्रुको भन्सार सुविधाअन्तरगत यस्तो नियम आएको भन्सार विभागले जनाएको छ । यसअघि नै यस्तै प्रकृतिको नियम भए पनि कार्यान्वयन नहुँदा नेपाली उद्योगी/व्यापारी र बजार मर्कामा परेको गुनासो पछि परिस्कृत रुपमा कडाइको व्यवस्था गरिएको हो।

यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने मालवस्तु जाँच पास सम्बन्धी संशोधनको ५ नम्बर बुँदामा यस्तो व्यवस्था गरिएको छ । यसमा हवाई यात्रुले ल्याउन पाउने यात्रु सुविधाका वस्तुहरुको कुनै पनि सुविधा स्थलमार्गका सर्वसाधारणलाई छैन । तर, भारतीय सेनामा काम गर्ने सैनिक अधिकारी, भारत र चीनमा पढ्न जाने विद्यार्थीलाई भने कम्प्युटर र ल्यापटप ल्याउन भने सुविधा दिइएको छ ।

विभागकाअनुसार व्यक्तिगत प्रयोजनका लागि एक सय रुपैयाँसम्मका वस्तु ल्याउँदा पनि भन्सारले जाँच परीक्षण गर्नु पर्ने उल्लेख छ । तर, विभाग अन्तरगतका मातहत कार्यालयहरुले भने एक सय रुपैयाँसम्मका वस्तुहरु ल्याउन दिने तर सो भन्दा बढीको वस्तुमा भन्सार लाग्ने भन्दै सूचना जारी गरेका छन् ।

विभागको निर्देशन लगत्तै भैरहवा भन्सार कार्यालयले एक सूचना जारी गरेर भारतबाट नेपाल आउने यात्रुहरुले ल्याउन पाउने सामानबारे प्रष्ट्याएको छ ।

भन्सार विभागले पनि कर नलाग्ने बजारमा गएर नेपाली मुद्रामा गरिने कारोबार निरुत्साहित गर्न यस्तो नियम कडाइका साथ कार्यान्वयन थालिएको जनाएको छ । पूर्वको ठूलो भन्सार नाका विराटनगरले पनि स्थलमार्गबाट यात्रुले गर्ने कारोबारलाई कडाइ थालेको छ ।

जेठ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्