अन्तिम खेलमा एपिएफलाई पराजित गरेसँगै फ्रेन्ड्स रेलिगेशनबाट जोगियो

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले रेलिगेशन संकट अन्तिम खेलमा टारेको छ। शुक्रबार दशरथ रङ्गशालामा भएको खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबलाई ४-० को फराकिलो अन्तरले हराउँदै रेलिगेशन खतरा टारेको हो। फ्रेन्ड्स सँगको हारपछि एपिएफको भने रेलिगेशन सम्भावना कायम छ।

रेलिगेशनबाट बच्नका लागि जित अनिवार्य रहेको खेलमा फ्रेन्ड्सका लागि टोरिक जेब्रिन, विकास थापा, रफिक अमिनु र अखरबेक उत्तामोभले समान १-१ गोल गरे। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १५औं मिनेटमा टोरिक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाए। डिबक्स बाहिर रफिक अमिनुलाई एडमा डोम्वियाले फउल गरेपछि प्राप्त फ्रिकिकमा टोरिकले आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाए।

खेलको ३१औं मिनेटमा बिकास थापाले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। रुपेश केसीको लामो पासलाई विकासले गरेको प्रहार गोलमा परिणत भएको थियो। पहिलो हाफमा २ गोल गरेको फ्रेन्ड्सका लागि ७१औं मिनेटमा रफिक अमिनुले अग्रता थप फराकिलो बनाए। उनले जेब्रिनकै पासमा गरेको प्रहारले क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो।

जितसँगै रेलिगेशनबाट बचेको फ्रेन्ड्सको २६ खेलबाट ३० अंक भएको छ। पराजित एपिएफलाई भने रेलिगेशनको खतरा कायम छ। समान ३० अंक नै रहेपनि एपिएफ हेड टु हेडमा फ्रेन्ड्सभन्दा पछि रहँदा उसले शनिबार लिगको अन्तिम खेलमा थ्री स्टारले जावलाखेलको नतिजा पर्खनु पर्ने छ। अन्तिम खेलमा एपिएफको रेलिगेशन बच्नका लागि थ्री स्टारको हार या बराबरी  गर्नु पर्ने छ।

जेठ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्