खुमलटारको रेलिगेशन पक्का भएसँगै अब एपिएफ कि थ्री स्टार झर्ला ‘बी’ डिभिजनमा?

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेशन पर्ने टिमको तय शनिबार हुने थ्री स्टार र जावालाखेल बीचको खेलले गर्ने पक्का भएको छ। शुक्रबार एफसी खुमलटार च्याम्पियन चर्च ब्वाइजसँग २–० ले पराजित हुँदै रेलिगेशनमा पर्दा फ्रेन्ड्सले भने विभागीय क्लब एपिएफलाई पराजित गर्दै रेलिगेशन संकट टार्‍याे ।

अब ‘बी’ डिभिजनमा घटुवा हुने टिम एपिएफ र थ्री स्टार मध्ये एक टिम हुने छन्। यदि शनिबार थ्री स्टारले जावलाखेललाई पराजित गरेमा एपिएफ रेलिगेशनमा पर्ने छ। यदि थ्रीस्टारले बराबरी या हार भोग्न पुगेमा एपिएफ जोगिने छ भने थ्रीस्टार रेलिगेशनमा पर्ने छ।

शुक्रबार भएको तनावपूर्ण खेलमा खुमलटारका अफिसियल मैदान प्रवेश गरेर रेफ्रिमाथि नै हातपात गर्न पुगेका थिए। रेफ्रीले सुरक्षाको माग गर्दै दोस्रो हाफको सुरुआतमा केही समय खेलनै रोक्न बाध्य भए। चर्च ब्वाइजको जितमा सुशील शाह र जोसेप बेम्पाहले पहिलो हाफमा गरेको एकएक गोल खुमलटारलाई पराजित गर्न पर्याप्त भयो।

खेलको १२ औं मिनेटमा सुशीलले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा जोसेपले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर बनाए। दोस्रो हाफमा चर्च ब्वाइज १० खेलाडीमा समेटिएको थियो। चर्च ब्वाइजका गोलकिपर प्रिसोले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए।

पहिलो हाफमा खुमलटारका मेसुके ओलुमोउ पेनाल्टीमा गोल गर्न चुकेका थिए। जितसँगै चर्च ब्वाइजले २६ खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा फराकिलो अग्रता कायम राख्न सफल भयो। खुमलटार २६ खेलमा २७ अंक जोडेर पुछारमा रह्यो।

जेठ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्