गर्मी बढेपछि शुक्लागण्डकीका विद्यालय बन्द

पोखरा – अत्यधिक गर्मी बढेपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले विद्यालय बन्द गराउने भएको छ। आइतबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्न नगरपालिकाले निर्देशन दिएको हो।

तराईका जिल्लामा मात्रै नभएर पहाडी जिल्लामा पनि रेकर्ड तोड्ने गरी तापक्रम बढिरहेको छ। अत्यधिक बढेको गर्मीले पठनपाठन प्रभावित र विद्यार्थीको स्वास्थ्यमा समस्या देखिएकाले विद्यालय बन्द गराउने निर्णय गरेको शिक्षा अधिकृत ज्योतिप्रकाश तिमल्सेनाले बताए। अहिले दिएको बिदा वर्षे बिदाबाट कट्टी हुने उनको भनाइ छ।

शुक्लागण्डकीको हंशवाहिनी माध्यमिक विद्यालयले भने नगरपालिकाले निर्णय गर्नुअगावै बिदा दिइसकेको छ। गर्मी अत्यधिक भएपछि तनहुँको व्यास नगरपालिका र देवघाट गाउँपालिकाले पनि बिदा दिएका छन्।

जेठ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्