गाउँपालिका अध्यक्षसँग विद्यार्थीको अन्तरक्रिया

सिमकोट – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले अध्यक्षसँग विद्यार्थीको अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिका अध्यक्ष र विद्यार्थीको प्रत्यक्ष उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

गाउँपालिका केन्द्र याल्वाङमा सञ्चालन भएको कार्यक्रममा विद्यार्थीले गाउँपालिका अध्यक्षसँग पहिलो पटक सवाल जवाफ गर्न पाएका थिए।
सो अवसरमा विद्यार्थीले अध्यक्षसँग गुणस्तरीय शिक्षा, विद्यार्थीले गाउँपालिकाबाट पाउने सेवा र सुविधा, स्थानीय पाठ्यक्रम निर्माण, समयमै पाठ्यपुस्तक पाउनुुपर्ने, विद्यालयमा भौतिक पूर्वाधार निर्माण, शौचालय र खानेपानी व्यवस्थाबारे जिज्ञासा राखेका थिए।

त्यसैगरी, शिक्षा क्षेत्रका विकासका लागि आगामी वर्ष गाउँपालिकाले राख्ने प्राथमिकताबारे पनि विद्यार्थीले अध्यक्षसँग जिज्ञासा राखेका थिए। विद्यार्थीको जिज्ञासा सुनिसकेपछि गाउँपालिका अध्यक्ष प्रेमबहादुुर लामाले गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले जहिल्यै पनि पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका थिए।

गाउँपालिकाको प्राथमिकता शिक्षा क्षेत्र परेका कारण गुणस्तरीय शिक्षा प्रदानका लागि पछि नहट्ने प्रतिबद्धा जनाएका थिए।
त्यसैगरी पाठ्यपुस्तक समयमै पुर् याउने, विद्यालयमा खानेपानी, शौचालयको व्यवस्था भइरहेको र आवश्यकताका आधारमा विद्यालय भवन निर्माणसमेत गरिने जवाफ अध्यक्ष लामाले दिएका थिए।

गाउँपालिकाले बजेट व्यवस्था नगरेका कारण राष्ट्रपति रनिङशिल्ड खेल्न नपाएको गुनासो विद्यार्थीले गरेपछि अध्यक्ष लामाले प्रतियोगिता हुने स्थान परिवर्तन भएपछि समस्या भएको बताए।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुुर शाही, ५ नम्बर वडाका अध्यक्ष लातार लामा, शिक्षा शाखाका प्रमुख मनराज बुढा, शिक्षक र विद्यार्थी सहभागी थिए।

जेठ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्