आँधीखोलाको प्रशासनिक भवनः सेवा दिन थालेको १० महिनापछि ओलीले गरे उद्घाटन

पोखरा – स्याङ्जाको आँधीखोला गाउँपालिकाको नयाँ प्रशासनिक भवनबाट सेवा दिन थालेको १० महिना बढी भयो। १८ साउन २०७९ मा निवर्तमान गाउँपालिका अध्यक्ष सुधीर पौडेलले झण्डोत्तलन गरेसँगै नयाँ भवनबाट सेवा प्रवाह सुरु भएको थियो।

सेवा दिन थालेको १० महिनापछि त्यही भवनको उद्घाटन गरिएको छ। नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले शुक्रबार तामझामबीच आँधीखोला गाउँपालिकाको भवन उद्घाटन गरेका हुन्।

 सेवा दिन थालेको १० महिनापछि भवन उद्घाटनको वाहनामा राजनीति गरेको भन्दै गाउँपालिकाको आलोचना सुरु भएको छ।
पहिला वास्तु पूजा गरेर सेवा दिन थालेको गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलले दाबी गरे। ‘वास्तु पूजा गरेर गृह प्रवेशमात्रै गरेका हौं। माथिल्लो पूरानो भवनमा सेवा दिइरहेका थियौं। पण्डितहरू बोलाएर वास्तु पूजा गरेर भित्र सरेको हो’, उनको दाबी छ। सेवा शुभारम्भ गर्दाको बखत नै विधिवत् उद्घाटन गर्ने उद्घोष गरेको उनले बताए।

आँधीखोला गाउँपालिका–५ कृषिमा २६ रोपनी क्षेत्रफलमा बनेको भवन ५ करोड ६४ लाख ४२ हजार ८६२ रूपैयाँमा निर्माण भएको हो। २०७६ असोज १४ तत्कालिन प्रदेश सभा सदस्य मीनप्रसाद गुरूङले शिलन्यास गरेका थिए। भवनको निर्माण २०७८ चैत ४ गते सकिएको गाउँपालिकाले जानकारी दिएको छ।

१५ करोड ३५ लाख रूपैयाँको डिपिआर तयार पारेको गाउँपालिकाले बजेट अभावको कारण गाउँसभा हल, कार्यपालिका हल, कम्पाउण्ड गेट, लिफ्ट, पहुँचमार्ग निर्माणलगायत काम बाँकी छ।

केपी ओलीलाई होलिकोप्टरमा लाखौं रूपैयाँ खर्च गरेर ल्याएर दोस्रो पटक भवन उद्घाटन गर्नु गलत भएको गाउँपालिकाका एक जनप्रतिनिधिले बताए। ‘पहिले उद्घाटन भइसक्या हो। अहिले पार्टीगत हिसाबले केपी ओलीलाई ल्याएर उद्घाटन भएको छ’, उनले भने।

‘दैवी प्रकोपमा परेका पीडितलाई रहात दिन आनकानी गरेको गाउँपालिकाले ओलीलाई होलिकोप्टरमा ल्याएर दोस्रो पटक उद्घाटन गर्दा रकम कहाँबाट आउँछ ?’, उनको प्रश्न छ।

पहिलोपटक गाउँपालिकाको भवनबाट सेवा शुभारम्भ गरेपछिको सामूहिक तस्बिरः आँधीखोला गाउँपालिका

गाउँपालिका उपाध्यक्ष सीता थापा पहिलो पटक उद्घाटन भएको जिकिर गर्छिन्। उनले त्यतिबेला गृह प्रवेश मात्रै गरेको बताइन्।

‘दोस्रो पटक भाको होइन। पहिला हामी साउनको १८ गते सेवा प्रारम्भ मात्रै गरेको हो त्यो दिन’, उनले भनिन्, ‘गृह प्रवेश जस्तै के। अफिसमा चाहिँ सेवा प्रारम्भ प्रवेश गरेको हो। उद्घाटन पछि सबै काम भइसकेपछि गर्ने त्यो दिनको सल्लाह हो हाम्रो। उद्ुघाटन २ चोटि गरिएको होइन।’

जेठ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्