तातो हावाबाट पर्ने प्रभाव कम गर्न ठोस कार्ययोजना बनाउनुपर्नेमा जोड

काठमाडौं – तातो हावाको लहर तथा लूबाट जनजीवनमा परिरहेको प्रभाव, जोगिने उपाय तथा यस सम्बन्धमा भइरहेका प्रयासका सम्बन्धमा विपद् संवाद आयोजना गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सभाहलमा आयोजित संवादका क्रममा विभिन्न निकायहरुको भूमिका र जिम्मेवारी स्पष्ट भएको मानवीय कार्ययोजना तथा विषयगत क्षेत्रहरुको योजना आवश्यक रहेको महसुस गरियो ।

तातो हावासम्बन्धी सरकारी निकायका अधिकारीहरु एवं विज्ञहरुले स्थानीय तहको आवश्यकता पहिचान गरी त्यहाँका जनप्रतिनिधिको नेतृत्वमा पूर्वतयारी एवं प्रतिकार्यका कार्य अगाडि बढाउन माग गरे।

तातो हावाको लहर तथा लू बाट प्रभावित भएकाहरुलाई जोगाउन गैरसरकारी एवं परोपकारी संस्थाका साथै विपद् स्वयंसेवकहरुको पनि भूमिका हुनेमा सबैको एक मत रह्यो ।

संवादका क्रममा जल तथा मौसम विज्ञान विभागका उप महानिर्देशक अर्चना श्रेष्ठले यस वर्ष विभिन्न स्थानमा अधिकतम तापक्रम हालसम्मकै उच्च रहेको र यो अवस्था अझै केही दिन रहनसक्ने बताइन्।

 स्वास्थ तथा जनसंख्या मन्त्रालयका वरिष्ठ मेडिकल सुपरिन्टेन्डन्ट डा. पवन कुमार साहले तातो हावाको लहरबाट सामान्यदेखि बेहोस भई ज्यान जानेसम्मका स्वास्थ्य जोखिम रहेको जानकारी दिए।

नेपाल स्वास्थ्य अनुसन्थान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धितालले स्वास्थ्य, शिक्षा, यातायात, विद्युत प्रणाली लगायतमा प्रभाव पर्ने भएकोले सबै निकायहरुबीच उचित समन्वयमा काम हुनुपर्ने धारणा राखे।

डिपिनेट, केयर नेपाल, स्टार्ट फण्ड, पिपल इन निड, ओपिएम नेपाललगायत मानवीय क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुले तातो हावाबाट प्रभावितहरुका लागि आ–आफ्ना संस्थाहरुका योजनाहरुबारे जानकारी गराएका थिए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलको अध्यक्षतामा भएको संवाद कार्यक्रमलाई जलवायु परिवर्तन र पानी व्यवस्थापन विज्ञ अजय दीक्षितले सहजीकरण गरेका थिए।

जेठ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्